राष्ट्रपति भण्डारी २ हजार वर्ष पुरानाे सैनिक सङ्ग्रहालयमा


सियान– राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सियानस्थित माटोबाट बनेको सेनाको सङ्ग्रहालय ‘टेराकोटा वारियर्स म्युजियम’ अवलोकन गरेकी छिन् । अवशेष प्रदर्शनमा विशिष्ट मानिने सो सङ्ग्रहालय आइपुग्दा राष्ट्रपति भण्डारीलाई प्रमुख पुरातत्वविद् होउले स्वागत गर्दै सङ्ग्रहालयका विषयमा जानकारी दिए। सो अवसरमा राष्ट्रपतिले आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरेकी थिइन् ।

सो सङ्ग्रहालयमा दुई हजार वर्षभन्दा पुराना माटाका मूर्ति छन् । ती किन्सिहुवाङको समाधिका रक्षकका रुपमा देखिन्छन् । समाधिमा दुई भाग छन् र ती बाहिरी र भित्री नगरका रुपमा छन् । दुवै नगर चतुर्भुज आकारका छन् । समाधिको भित्री भाग नगरको दक्षिणी भागमा छ । आरम्भमा सो समाधिको उचाइ ११५ मिटर रहेकामा दुई हजार वर्ष बित्दा हाल ७० मिटरमा खिइएको छ । समाधिमा करीब ५०० अन्य साना समाधि फेला परेका छन् ।

सम्राट् किन्सिहुवाङको समाधिबाट करीब १.५ किमी पूर्वमा माटाका सैनिक तथा घोडा छन् । सन् १९७४ मा किसानले इनार खन्दा माटाबाट बनेका कलाका अवशेष फेला पारेका थिए । पुरातत्वविद्को एक समूहले अनुसन्धान तथा उत्खनन् गर्दा ठूलो खाडल फेला पारेको थियो । त्यहाँ माटाका करीब छ हजार सैनिक तथा घोडा फेला परे ।

सन् १९७६ मा उनीहरुले यस्तै अन्य दुई खाडल फेला पारे । त्यसलाई खाडल १, २ र ३ को नाम दिइयो । ती माटाका सैनिक तथा घोडा जीवित आकारका छन् । ती सैनिकले काँसका हतियार लिएका छन् । सैनिक राम्रोसँग लामबद्ध छन् । त्यहाँ रथ, स्थलसैनिक, घोडचढी तथा सशस्त्र सैनिक सबै छन् ।

पैँसठ्ठी दशमलव २५ वर्ग किमी क्षेत्रमा रहेको सम्राट्को सो समाधि बनाउन सात लाख २० हजार श्रमिकलाई ३७ वर्ष लागेको अनुमान गरिएको छ । यहाँ राजदरबार, नगरका पर्खाल तथा ढोका पनि छन् ।

हाल यहाँ १४९ खाडल तथा १९६ समाधि फेला परेका छन् । सन् १९६१ मा यहाँको राज्य परिषद्ले सम्राट् किन्सिहुवाङको समाधिलाई प्रमुख ऐतिहासिक तथा सांस्कृतिक स्थलका रुपमा घोषणा गरी यसलाई राज्यबाट संरक्षण दिएको थियो । सन् १९८७ डिसेम्बर ७ मा सो सङ्ग्रहालयलाई युनेस्कोले विश्व सांस्कृतिक सम्पदाका रुपमा घोषणा गर्यो ।

सङ्ग्रहालय अवलोकनमा राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङ्ची, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि रहेका थिए । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement