धुलिखेलमा ‘नेपाल हच पियोनी बगैँचा’ उद्घाटन, नेपाल-चीन सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउने लक्ष्य

धुलिखेलमा ‘नेपाल हच पियोनी बगैँचा’ उद्घाटन, नेपाल-चीन सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउने लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुलिखेल- नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान, मित्रता तथा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले काभ्रेको धुलिखेल नगरपालिका देवीस्थानमा ‘नेपाल हच पियोनी बगैँचा’ उद्घाटन गरिएको छ।

बगैँचा उद्घाटन कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित चिनियाँ प्रतिनिधिमण्डल, स्थानीय जनप्रतिनिधि, होटल व्यवसायी संघका पदाधिकारी तथा स्थानीय समुदायका सदस्यहरू सहभागी थिए।

कार्यक्रममा दुवै देशका प्रतिनिधिले बगैँचा उद्घाटनको शिलालेख अनावरण गरेका थिए। राजदूतलगायत चिनियाँ प्रतिनिधिमण्डलका सदस्यले पियोनीका बिरुवा रोपे।

उक्त अवसरमा शान्दोङ ग्रामीण पुनरुत्थान प्रतिष्ठानको एन्जल स्पेसल फन्डका उपमहासचिव तथा हेजे सहरका प्रतिनिधि फेङ वेइजीले सम्बोधन गरेका थिए। राजदूत चाङ माओमिङले नेपाल–चीन सम्बन्ध, पियोनी फूलको सांस्कृतिक महत्त्व र बगैँचा निर्माणले स्थानीय क्षेत्रमा थप्ने सौन्दर्यबारे धारणा राखेका थिए।

कार्यक्रममा चिनियाँ प्रतिनिधिमण्डलले पियोनी संस्कृतिसँग सम्बन्धित सांस्कृतिक तथा सिर्जनात्मक सामग्री उपहारस्वरूप प्रदान गरेको थियो।

नेपाली बालबालिकालाई चीनमा निःशुल्क उपचार

बगैँचा उद्घाटन समारोहमा नेपाली बालबालिकाका लागि परोपकारी स्वास्थ्य सहायता कार्यक्रमसमेत सार्वजनिक गरिएको छ। शान्दोङ ग्रामीण पुनरुत्थान प्रतिष्ठान र त्यसको एन्जल स्पेसल फन्डले कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन्।

कार्यक्रमअन्तर्गत स्वास्थ्य उपचार आवश्यक भएका तीनदेखि पाँच जना बालबालिका छनोट गरी चीनको शान्दोङ प्रान्तमा निःशुल्क उपचार उपलब्ध गराउने योजना छ। छनोट भएका बालबालिकालाई उपचारका लागि सन् २०२७ को अप्रिलमा शान्दोङ लगिने जनाइएको छ।

पियोनी संस्कृतिसँग जोडिएका सिर्जनात्मक गतिविधि

बगैँचा उद्घाटनका अवसरमा पियोनी फूलको चित्र बनाउने, परम्परागत कागज काट्ने कला सिक्ने तथा सुगन्धित साना झोलासम्बन्धी शैक्षिक प्रश्नोत्तरीलगायतका गतिविधि सञ्चालन गरिएको थियो।

कार्यक्रममा पियोनी संस्कृति तथा सिर्जनात्मक सामग्रीमा आधारित प्रदर्शनीसमेत आयोजना गरिएको थियो। प्रदर्शनीमा पियोनी संस्कृतिसँग सम्बन्धित सामग्री र अन्य सांस्कृतिक वस्तुहरू राखिएका थिए।

सांस्कृतिक प्रस्तुति, उपहार आदानप्रदान तथा हस्तकला प्रदर्शनीले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई स्थानीय समुदायसँग जोड्ने प्रयास गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा होटल व्यवसायी संघ काभ्रेका अध्यक्ष प्रल्हाद प्याकुरेलले बगैँचा निर्माणसँगै यसको संरक्षण र निरन्तरतामा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए।

उनले बगैँचालाई दीर्घकालीन रूपमा सञ्चालन र संरक्षण गर्न सके यसले स्थानीय पर्यटन तथा सांस्कृतिक गतिविधिमा समेत योगदान पुर्‍याउने धारणा राखे।

त्यस्तै, धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले स्वागत मन्तव्य राख्दै नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता सांस्कृतिक तथा सामुदायिक कार्यक्रमले सहयोग पुर्‍याउने बताए।

बगैँचा निर्माण, सांस्कृतिक गतिविधि र बालबालिकाका लागि स्वास्थ्य सहायता कार्यक्रमले नेपाल–चीन सम्बन्धलाई स्थानीय तहसम्म विस्तार गर्नुका साथै स्थानीय समुदाय, विद्यार्थी तथा बालबालिकालाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।