नेपाल चीनबीच हवाई सम्झौता, चीनको १५ विमानस्थलमा उडान अनुमति


काठमाडौं – बिहिबार र शुक्रबार बेइजिङमा भएको दुई पक्षीय वार्तापछि नेपाल र चीनबीच हवाई सेवा सम्झौता भएको छ ।

नेपालले चीनका १५ वटा विमानस्थलमा उडान अनुमति पाएको छ भने चीनले पोखरा र गौतमबुद्ध विमानस्थलमा हप्तामा २१ वटासम्म उडान गर्न पाउने सम्झौता गरि (आज) शुक्रबार सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार हप्तामा ९८ वटासम्म एक अर्को देशमा हवाई उडान गर्न पाउने र ८ वटा हवाई रुट प्रयोग गर्न सकिने भएको छ ।

पर्यटन मन्त्रालयअन्तर्गतको हवाइ उद्योग व्यवस्थापन महाशाखाका सहसचिव सुरेश आचार्यले नेतृत्व गरेको नेपाली टोली र चीनको तर्फबाट डेपुटी डाइरेक्टर जनरल बाई वेनलीको नेतृत्वमा रहेको टोलीबीच बेइजिङमा दुई दिन वार्ता भएपछि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

वार्तामा नेपालको तर्फबाट बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सहसचिव सुशील लम्साल, मन्त्रालयका अधिकारी र नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सका प्रतिनिधि सहभागी भएका थिए ।

‘बेइजिङ, सांघाई, सियान, ग्वान्झाओ, ल्हासा लगायत विभिन्न १५ गन्तव्यमा नेपाललाई उडान अनुमति दिन चीन सहमत भएको नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement