काठमाण्डु – चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल र चीनका सीमावर्ती अधिकारीहरूबीच सीमा सुरक्षा बैठक सम्पन्न भएको छ। तीन दिनसम्म बसेको बैठकमा सीमा अपराध नियन्त्रण, व्यापार सहजीकरण तथा कैलाश मानसरोवर यात्रालाई सहज बनाउनेलगायतका विषयमा गहन छलफल भएको छ।
पुलान काउन्टीको स्थानीय प्रशासनले आयोजना गरेको बैठकमा नेपालका तर्फबाट बझाङ र हुम्ला जिल्लाका सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिहरू सहभागी भएका थिए। दार्चुलाबाट बाटो अवरुद्ध भएका कारण त्यहाँबाट भने एक जना मात्र प्रतिनिधि सहभागी भएका थिए।
बैठकमा सहभागी हुन बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश केसरी, साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहरा, सशस्त्र प्रहरी बलका डीएसपी र जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी भदौ २७ गते हुम्ला हुँदै ताक्लाकोट पुगेका थिए।
बैठकमा विशेषगरी बझाङको सीमावर्ती क्षेत्र उरै नाकालाई आधिकारिक रूपमा सञ्चालनमा ल्याउन नेपाली पक्षले जोड दिएको छ। उरै नाका कैलाश मानसरोवर जाने सबैभन्दा छोटो मार्ग भएकाले यसलाई व्यवस्थित गरी स्थानीयको आवतजावत, व्यापार तथा तीर्थयात्रीको यात्रा सहज बनाउनुपर्ने विषय उठाइएको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिए।
उनले भने, ‘विगतमा जस्तै उरै नाकाबाट ताक्लाकोट आवतजावत सहज हुनुपर्ने, सीमावर्ती क्षेत्रका बासिन्दाले भोग्दै आएका सास्ती हटाइनुपर्ने र पशुचौपाया चरिचरनको समस्या समाधान गरिनुपर्ने विषयमा हामीले चिनियाँ पक्षको ध्यानाकर्षण गराएका छौँ। नेपाली पक्षले उठाएका एजेन्डाप्रति चिनियाँ अधिकारीहरू सकारात्मक देखिएका छन्।’
चीन र नेपालबीचको परम्परागत मित्रतालाई प्रवर्द्धन गर्न, सीमा नियन्त्रण तथा व्यापारिक सम्पर्कलाई सुदृढ बनाउन बैठक आयोजना गरिएको चिनियाँ पक्षले जनाएको छ। नेपाली पक्षले उठाएका विषयलाई माथिल्लो निकायमा छलफल गरी शीघ्र जानकारी गराउने प्रतिबद्धता चिनियाँ अधिकारीहरूले जनाएका छन्।
दुवै देशका अधिकारीहरूबीच सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न आपसी समन्वय र सहकार्यलाई थप मजबुत बनाउँदै नियमित रूपमा यस्ता बैठक आयोजना गर्ने सहमति पनि भएको छ।
विशेषगरी नेपाल र चीनबीच हुँदै आएको परम्परागत व्यापारलाई पुनः निरन्तरता दिने विषयमा समेत दुवै पक्षबीच छलफल भएको छ।




प्रतिक्रिया