नेपालमा कम्युनिष्ट ध्रुव्रिकरण र समाजवादको बाटो…


‘संसारभरीका मजदुरहरु एक होअौं’ भन्ने उद्घोषका साथ सुरु भएको कम्युनिष्ट आन्दोलन अहिले विश्वका अधिकांश देशहरुमा अनेकौं प्रयोगबाट अगाडि बढिरहेको छ । नेपालमा पनि वि.स. २००६ साल बैशाख १० गते (१९४९ अप्रिल २२) मा ने.क. पार्टी स्थापना भएदेखि अहिलेसम्म आउँदा विभिन्न आरोह–अवरोहको श्रृंखलाकाविचमा नेपाली कम्युनिष्ट आन्दोलन गुज्रिंदै आएको छ । स्थापना कालदेखि वि.स‌‌ २०१९ सम्म नेपाली कम्युनिष्ट र आन्दोलन धुव्रिकरण हुन केन्द्रित छ भने २०१९–२०४७ सम्म टुटफुट, गुट र विभाजनतिर केन्द्रित देखिन्छ ।
सामान्यतया कम्युनिष्ट पार्टीहरु विपरितहरुको एकत्वमा नै हुन्छ । यो विज्ञान सम्भव पनि छ । पार्टीलाई जीवित राख्नकालागि अन्तर संघर्ष आवश्यक छ र यसले सही कार्यदिशामार्फत समाज र युग सापेक्ष गुणात्मक परिणाममूखी संघर्षको लाइन तय गर्दछ । नेपालका धेरै जसो कम्युनिष्ट पार्टीहरुमा रणनैतिक कार्यदिशा एकमत भएपनि कार्यनीति कार्यदिशामा भने ठुलो मतभेद देखिन्छ । 

ख्रुश्चेभले संशोधनवादी कार्यदिशा लागु गरेदेखी शोभियत संघ कम्युनिष्ट कार्यदिशा बारे महाविवाद सृजना भयो । चीनमा माओपछि देङले सुधारवादी नीतिलाइ अंगाले । लेलिनले स्थापना गरेको पूर्वी यूरोपका समाजवादी सत्ताहरु भकाभक ढल्न थाले । यसको प्रतिफल स्वरुप विश्वभरि नै कम्युनिष्ट आन्दोलन रक्षात्मक बन्यो । विश्व कम्युनिष्ट आन्दोलन धराशायी हुन लागिसकेपछि नेपालमा पनि कम्युनिष्ट पार्टीहरु सैद्धान्तिक र ब्यवहारिक कुराभन्दा पनि फगत कार्यदिशाको सवालमा रुमलीन पुगे । नेपाल जस्तो बर्गविभेद, जातीय विभेद, लैगिंक विभेद भएको समाजमा पनि कम्युनिष्ट पार्टीले नेतृत्व गर्न सकेन । अर्थात विभेदपूर्ण समाजमा कम्युनिष्ट आन्दोलनलाई वस्तुगत अवस्था अनुकुल हुनेगर्छ । अतः सर्वहारा वर्गको अधिनायकत्व सहितको राज्य ब्यबस्था कम्युनिष्टहरुको आधारभूत सिद्धान्त हो ।

विभिन्न कालखण्डमा यसका लागि पहल नभएका पनि होइनन् । १० वर्षे जनयुद्ध यसको संश्लेषण हो । वर्षौंदेखिको अस्थिरताको निरन्तरतालाई क्रमभंग गर्ने ढंगले अहिले नेकपा एमाले र माओवादी केन्द्रबीच एकता प्रक्रिया शुरु भएको छ । जुट आफैमा सकारात्मक र फुट आँफैमा नकारात्मक शब्दावली हुन । तर सबै जुटले सहि दिशा पकडेको हुन्छ भन्ने हुँदैन र सबै फुट गलत हुन्छ भन्ने हुँदैन । जुट र फुटमा सैद्धान्तिक राजनैतिक मर्म, भावना र उदेश्यमा यसको औचित्यमा अन्र्तनिहित हुन्छ । जुट किन र कसको वा स्वार्थमा भन्ने सवाल प्रमुख हुन्छ ।

देश, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, जनताको लागि गरिएको एकता ऐतिहासिक र दुरगामी, राजनीतिक प्रभाव र त्यसमा खास महत्व लुकेको हुन्छ । यदि यसको विपरित उदेश्य बोकेर एकता हुने हो भने त्यहाँ फुट वा विद्रोह आवश्यक हुन सक्छ । घातका विरुद्धमा यदि फुट भयो भने त्यो नकारात्मक शब्दले पनि सकारात्मक दिशा प्रदान गरी रहेको हुन्छ । यो जुट र फुटको द्धन्द्धात्मक सार्वभौमिकता हो । तर्सथ नेकपा (एमाले) र नकपा (माओवादी केन्द्र) बिचको एकता प्रक्रियामा धेरै तरङ्गित हुन आवश्यक छैन । एकताका लागि सैद्धान्तिक आधारहरु तय भई सकेका छन् । यद्यपि अझै कतिपय प्राविधिक र व्यवहारिक कुराहरु मिलिसकेका छैनन । तर सिद्धान्त, विधान, नीति, एजेन्डा र कार्यक्रमहरु मिलिसकेपछि प्राविधिक विषय गौण हुन आउँछन् ।

अहिले नेपाली जनताको चाहना भनेको कम्युनिष्ट पार्टीको एकता हो । र कम्युनिष्ट पार्टी एकताको मूलभूत आधार भनेको समाजवाद हो । ऐतिासिक द्धन्द्धान्तात्मक भौतिकवादी मान्यता अनुसार मानव समाज विकासको विभिन्न ऐतिहासिक चरण पार गर्दै आएको देखिन्छ । यसमा आदिम साम्यवाद, दासयुग, सामन्तियुग, पुँजीवाद युग, अनि समाजवादी ऐतिहासिक युगको अभ्यास भइसकेको छ । समाजवादी राज्यसत्ताका पनि तीनवटा विशेषता हुन्छन् । यसका काल्पनिक समाजवाद, बैज्ञानिक समाजवाद र उपभोक्तावादी समाजवाद ।
औद्योगिक क्रान्तिसंगै पुजीवादको विकास भयो । पुँजीवादमा मालिक र मजदुरबिच चरम अन्तरविरोध उत्पन्न भयो । र यही पुँजीवादको अन्याय र असमानताको विकल्पको रुपमा समाजवादको बहस सुरु भएको पाइन्छ ।

यसैक्रम दार्शनिक साइन्ट सिमन, चार्लस, प्रुधो लगायतकाले शोषण र विभेदरहित काल्पनिक समाजवादको परिकल्पना गरे । यता माक्र्स, एगंल्सले सर्वहारा र पुँजीपति वर्गको बीचको संर्घषको निरन्तर प्रक्रियाबाट मात्र समाजवाद सम्भव छ भन्ने बैज्ञानिकलेसमाजवाद अन्वेषण गरे । यसमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक खपक्षको स्वरुप स्पष्ट गरिएको छ । वुर्जुवाहरुले बैज्ञानिक समाजवादबारे अपब्याख्या गरेको पाइन्छ । उनीहरुले केवल शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता राज्यका दायित्वहरुलाई समाजवाद भनिरहेका छन् । यो बैज्ञानिक समाजवादको भ्रष्टीकरण हो । यसमा चरम आत्मकेन्द्रित व्यक्त्तिवाद, निहित स्वार्थ, नातावाद, फरियावाद, कृपावाद, भनसुनवाद र छाडावाद हावी हुन्छ । यो समाजवाद नभइ जनतालाई भ्रममा पार्ने वोइलरीकरण हो र यो योग्यतमहरुको उपभोक्तावादी समाजवाद हो ।

तसर्थ कस्तो खाले समाजवादको कम्युनिष्टहरुले प्रयोग गर्ने त ? यसमा कस्ता खालका आधारभूत पद्धतिहरु हामीले अवलम्वन गर्ने भन्ने अहिलेको मुख्य विषय हो । अहिले नेपालमा बलियो कम्युनिष्ट सरकार स्थापना भएको छ । त्यसकारण यस सरकारको सक्ता संचालनको मुख्य अन्तरबस्तु माक्र्सवादी प्रस्थापनामा आधारित वैज्ञानिक समाजवादको जगमा हुनुपर्छ । सामाजिक चेतना, उन्नत, मनोविज्ञान, सामूहिकता, राष्ट्रिय, अन्र्तराष्ट्रिय हुँदैन सिंगो मानव स्वार्थको चरित्र समेटिएको हुनु पर्दछ । माक्र्सवादले लामो र निरन्तर संघर्ष प्रक्रिया मार्फत उन्नत सामूहिक चेतनाको विकासपछि मात्र समाजवाद देख्दछ ।

पुरानै सोच र चेत हावी भएको समाजमा अहिलकोे राज्यशत्ताले केवल केही सुधारका काम गर्दैमा समाजवाद हुँदैन र आउदैन पनि । यस मानेमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताको मूल आधार बैज्ञानिक समाजवाद नै हुनु पर्दछ । यसका लागि स्थिर सरकार र यसले योजनावद्ध रुपमा अल्पकालिन, मध्यकालिन र दीर्घकालीन विकास निर्माणका परियोजनाहरु संचालन गर्नुपर्दछ । राष्ट्रिय पुँजी निर्माणका लागि उद्योग कलकारखाना व्यापक रुपमा विकास गर्नुपर्छ । दलाल पुँजीलाई निरुत्साहित गर्नु पर्छ । समृद्ध र समाजवाद फरक सवाल हो । अमूक समृद्धि र दलाल पुँजीले देश जतिसुकै धनि भए पनि बैज्ञानिक समाजवाद सम्भव हुँदैन । यस खालको अमूक समृद्धिले वर्ग अन्तरविरोध झन चर्काउँछ र उपभोक्तावादी समाजको जन्म गराउँछ ।

त्यसैले एमाले र माओवादी केन्द्रको एकता र तिनीहरुबाट सञ्चालित सरकारको मुख्य काम समृद्धि र शान्ति सहितको राष्ट्रिय पुँजीको व्यापक उत्पादन र न्यायोचित्त वितरण हो । सैद्धान्तिक राजनीतिक पक्ष नै एकताको मुख्य आधार मान्नु पर्छ । संख्यामा अड्किनु हुदैन । सरकार गठन विघटनका जालझेलहरु अन्त्य गर्नु पर्दछ । यसका लागि गुटगत मानसिकता, साघुँरो घेरा, निम्न पुँजीवादी चिन्तन, प्रतिशोधको भावना, त्याग्ने साहस गर्नैपर्छ । यसो गर्न सकिएन भने देश, जनता र स्वंय पार्टीका लागि घातक सावित हुनेछ । र वैकल्पिक धारले जनता र कार्यकर्तालाइ एकतावद्ध गर्दै यसको विकल्पमा नयाँ क्रान्तिकारी ध्रुविकरणको सम्भावना खोज्ने छन् ।

 लेखकः रमेश कठायत

(उनी नेकपा माअोवादी केन्द्र निकट केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य हुन।)

प्रतिक्रिया दिनुहोस
Advertisement