नेपालमा थप ११६ जना कोरोना भाइरसको संक्रमण


काठमाडौं – नेपालमा थप ११६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र गरिएको परीक्षणमा काठमाडौंका सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६९७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ९० जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म नेपालमा कुल २ लाख ९८ हजार बढीको पिसिआर परीक्षण गरिएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका ३६ वर्षीय पुरुष रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement