नेपालमा हालसम्म ११ सय ३३ जनाको कोरोना परीक्षण


काठमाडौं – ७२ दिनको अवधिमा ११ सय ३३ जनाको कोरोना भाइरस (कोभिड–१९) नमुना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जसमध्ये विदेशबाट आएका पाँच जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित पाँचमध्ये एक जना निको भएर घर फर्किसकेको र चार जनाको स्वास्थ्यमा अपेक्षाकृत सुधार भइरहेको बताए ।

२० जनवरीबाट नेपालमा कोरोना परीक्षण सुरु भएको थियो । चीनको वुहानबाट नेपाल आएका एक नेपाली युवामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ७३ जनाको कोरोना परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार देशभर ९९ जना आइसोलेसनमा उपचाररत छन् । संक्रमणको पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेकाहरुको पनि नमुना संकलन हुँदै आएको छ । सरकारले कोरोना संक्रमितको उपचारका लागि मुलुकभर ८५ वटा अस्पताल निर्धारण गरेको छ । केन्द्र र प्रदेश स्तरका सबै अस्पताल र ६० वटा जिल्ला अस्पतालमा उपचारको व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा मेची र उदयपुर अस्पताल, प्रदेश २ मा बारा र जनकपुर अस्पताल, बाग्मती प्रदेशमा भक्तपुर र सिन्धुली अस्पताल, गण्डकी प्रदेशमा धौलागिरी र गोरखा अस्पताल तोकिएको छ । यस्तै, प्रदेश ५ मा लुम्बिनी र तम्घास अस्पताल, कर्णाली प्रदेशमा सुर्खेत र दैलेख अस्पताल र सुदूरपश्चिम प्रदेशमा सेती र महाकाली अस्पताल तोकिएको मन्त्रालयले जनाएको छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement