त्रिकोणात्मक टी-२० सिरिज : हङकङलाई हराउँदै नेपालको लगातार दोस्रो जित


काठमाण्डु – त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।बिहीबार मुलपानी मैदानमा भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्‍यो ।

हङकङले दिएको ९५ रनको मध्यम लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४२ रन बनाउँदा क्याच आउट भए। ३४ बलको सामना गरेका आशिफले ६ चौका हाने।

हङकङका इशान खानले तीन विकेट लिए । यासिम मुर्तजाले एक विकेट हात पारे । त्यसअघि टस हारेर ब्याटिङमा आएको हङकङले निर्धारित १९.३ओभरमा सबै विकेट गुमाएर ९४ रनको योगफल खडा गरेको थियो ।

हङकङका यास्मिन मुर्तजाले ३६ रन बनाएका थिए । जिसान अलीले १७ रन थपे । यसबाहेक हङकङका अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हङकङविरुद्ध घातक बलिङ गरेका नेपालका करण केसीले चार विकेट लिए । चार ओभर बलिङ गरेका करणले १५ रन खर्चिए । अभिनास बोहरा र सोमपाल कामीले समान दुई विकेट लिए । मौसम ढकाल र कुशल मल्ल समान एक विकेट लिए । शृङ्खलामा नेपालको यो दोस्रो खेल हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement