नेपाल दाता, चीन मख्ख : रुपसी ‘राइनो’ले बढायो साइनो !


काठमाडौं – धेरैले नेपाललाई माग्ने देशका रुपमा मात्रै बुझ्छन् । तर, यो बुझाइ अपूरो छ । नेपालले माग्ने मात्रै होइन, दिने पनि गर्छ ।नेपालले गैडा उपहार दिएपछि छिमेकी राष्ट्र चीन मख्ख परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक सत्ता सम्हालेपछि चीनसँगको सम्बन्ध सुधार हुँदै गएको थियो । गैडा (राइनो) उपहार दिँदा नेपालको चीनसँगको साइनो झनै मजबुत भएको छ ।

नेपालले चीनलाई उपहारस्वरुप दिएको एक जोडी एकसिंगे गैंडा चीन पुगिसकेको छ । चीनसँग घनिष्ट भइरहेको कुटनीतिक सम्बन्ध र समृद्धिको सपनामा चिनिया योगदानका लागि गैंडा कुटनीतिले सेतुको काम गर्ने देखिन्छ । नेपाल–चीनबीच यसअघि भएको समझदारी पत्र (एमओयू) मा नेपालले चीनलाई गैंडा हस्तान्तरण गर्ने उल्लेख थियो ।

सम्झौता अनुसार नेपालले भद्रा र रुपसी गरी एकजोडी गैंडा चिनियाँ कार्गो विमानमार्फत् चीन पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जोडी गैंडा चिनियाँ राजदूत यू होङलाई हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओलीले चीनलाई हस्तान्तरण गरिएको एकजोडी गैंडा उपहारले आपसी सम्बन्ध थप विस्तार भएको बताए । प्रधानमन्त्री ओलीले केही समयअघिको आफ्नो चीन भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट भएको स्मरण गर्दै भ्रमणका बेला भएको पारवहन र यातायातसम्बन्धी सम्झौता कार्यान्वयनको काम द्रुतगतिमा अघि बढेको जानकारी गराए ।

मन्त्रिपरिषद्को विक्रम सम्वत् २०७३ असार २६ गतेको बैठकले चीन सरकारलाई २ जोडी गैंडा दिने निर्णय गरेको थियो । जसअनुसार चितवन राष्ट्रिय निकुञ्जबाट एकजोडी गैंडा ल्याई हस्तान्तरण गरिएको हो । अर्को जोडी गैंडा आगामी साउनभित्र हस्तान्तरण गरिसक्ने बताइएको छ । पछिल्लो पटक वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत चीन भ्रमणमा जाँदा समेत गैंडा हस्तान्तरणको विषयमा छलफल भएको थियो । चिनियाँ पक्षको चासो अनुसार नै वनमन्त्री बस्नेतले गैंडा हस्तान्तरण प्रक्रिया अगाडि बढाएका हुन् । गैंडा हस्तान्तरण कार्य बहुआयामिक महत्वको भएको बताउँदै मन्त्री बस्नेतले आगामी दिनमा नेपालको पहिचानको चर्चा विश्वमा अझ बढ्ने धारणा व्यक्त गरे ।

भाले गैंडाको तौल अनुमानित ९ सय किलोग्राम र पोथी गैंडाको तौल १ हजार २ सय किलोग्राम रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।  आर्थिक र भौतिक स्रोतसाधनमा जतिसुकै प्रगति गरेपनि चीनमा दुर्लभ एकसिंगे गैंडा नपाइने भएका कारण नेपालले उपहारमा हस्तान्तरण गरेको हो । भौतिक पूर्वाधार र आर्थिक रुपमा नेपाल कमजोर रहेपनि वन्यजन्तु र प्राकृतिक सौन्दर्यमा नेपाल धनी रहेको चीनले बुझेको छ ।

नेपालले हालसम्म विभिन्न देशमा २६ गैंडा उपहार दिएको छ । विश्वमै दुर्लभ मानिने एकसिंगे गैंडा नेपाल र भारतमा मात्रै पाइन्छ ।नेपालमा पछिल्लो गणनाअनुसार ६ सय ४५ वटा गैंडा छन् । चितवनमा मात्रै ६ सय ५ गैंडा छन् । गैंडा हस्तान्तरपछि चीनसँग बढेको निकटताले नेपालको प्रगतिका लागि चिनियाँ सहयोग बढ्ने अनुमान गरिएको छ । नेपालको परनिर्भरता घटाउन तथा आर्थिक र भौतिक विकासका लागि प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला थुप्रै सम्झौता भएका छन् ।

ती सम्झौतामध्ये चिनियाँ रेल नेपाल भित्र्याउने महत्वपूर्ण सम्झौता हो । नेपाली गैंडा चीन पुगिसकेकाले चाँडोभन्दा चाँडो आफ्नो रेल नेपाल पुर्याउन चीनमाथि स्वभाविक दबाब बढेको छ । जसले चीन र नेपालबीच सम्बन्ध विस्तार गर्दै नेपालको प्रगतिमा योगदान पुर्याउने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement