विद्युत प्राधिकरणले ल्यायो नयाँ बिलिङ सिस्टम, १० युनिट खपत गरे ३० रुपैयाँ मात्रै !


काठमाण्डु – नेपाल विद्युत प्राधिकरणले नयाँ बिलिङ प्रणाली लागू गरेको छ । सोमबारदेखि नै लागु हुने गरी नयाँ बिलिङ प्रणाली ल्याएको हो । पहिले प्रतियुनिट ३ रुपैयाँदेखि अधिकतम १४ रुपैयाँसम्म महसुल लाग्ने गरेको थियो ।

प्राधिकरणको कम्प्युटराइज बिलिङ तथा नेटवर्किङ शाखाका प्रमुख सुजनकुमार श्रेष्ठका अनुसार अबदेखि १० युनिटसम्मको निःशुल्क हुनुका साथै अधिकतम महसुल पनि विभिन्न क्षेत्रमा घटेकाले सोही अनुसार बिलिङ सिस्टम समायोजन गरिएको छ ।

नयाँ महसुल दर अनुसार १ सय ५० युनिटसम्म मात्रै खपत गर्ने ग्राहकले २५ प्रतिशत छुटसहितको बिल पाउने छन् । यस्तै २ सय ५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशत छुट पछिको बिल पाउने छन् ।

१० युनिटभित्र खपत गर्ने ग्राहकले डिमाण्ड शुल्क ३० रुपैयाँमात्रै तिर्नु पर्नेछ । तर ११ युनिट खपत भएमा भने ११ युनिटकै ३ रुपैंयाँका दरले थप ३३ रुपैयाँ महसुल लाग्नेछ । १ सय ५० युनिटसम्मको खपतमा २५ प्रतिशत छुट पाउने भएकाले उपभोक्ताले ११ युनिटको २५ रुपैयाँ र डिमाण्ड शुल्क ३० रुपैयाँ गरि ५५ रुपैयाँ तिर्नु पर्नेछ ।

प्राधिकरणले साउन १ गतेदेखिनै बिलिङ प्रणाली अपग्रेडको काम सुरु गरेको थियो । आइतबार सिस्टम अपग्रेडको काम सकिएकाले सोमबारदेखि भुक्तानी हुने बिलमा नयाँ दर कायम गरिएको हो । विद्युत नियमन आयोगले समायोजन गरेको नयाँ महसुल दर कार्यान्वयनका लागि प्राधिकरणले बिलिङ सिस्टम अपग्रेड गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement