बाढीका कारण फसेका जलविद्युत् आयोजनाका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता

बाढीका कारण फसेका जलविद्युत् आयोजनाका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेपाल विद्युत् प्राधिकरणले बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको छ।

उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्तिसहित थप हेलिकप्टर काठमाण्डुबाट प्रभावित क्षेत्रतर्फ पठाइएको प्राधिकरणले जनाएको छ।

सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै हेलिकप्टर घटनास्थलतर्फ पठाइएको हो।

विशेषगरी नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धार र शान्ति बजार क्षेत्रमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उद्धार टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

बाढीबाट प्रभावित आयोजनामा कार्यरत जनशक्तिको सुरक्षा तथा उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ

आवश्यकताअनुसार उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइने प्राधिकरणको भनाइ छ। प्राधिकरणले विपद्को यस कठिन परिस्थितिमा सबैलाई धैर्य र संयम कायम राख्न आग्रह गर्दै आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न अनुरोध गरेको छ।