काठमाण्डु – नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजाति समुदायको पर्वहरुमा सार्वजनिक विदा दिन माग गरेको छ ।
नेपालका बहुसंख्यक आदिवासी जनजातिको जीवनशैली र परम्परासँग जोडिएको सांस्कृतिक पर्वमा दिईंदै आएको एक दिनको सार्वजनिक विदा पनि तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले कटौती गरेपछि सार्वजानिक विदा पुनर्स्थापना गर्न माग गर्दै जनजाति महासंघका अध्यक्ष जगत बरामको नेतृत्वमा सम्पूर्ण जातिय संघ/संस्थाहरुले गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएका हुन् ।
‘नेपालका लगभग ३७ प्रतिशत जनसंख्या ओगट्ने आदिवासी जनजाति समुदायले मनाउँदै आएको चाडहरुमा दिइने सार्वजनिक विदा केपी ओली सरकारले कटौती गरेपछि तमाम आदिवासी जनजाति समुदायलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा यसले गम्भीर असर पुर्याएको छ । आदिवासी जनजातिहरूको सांस्कृतिक चाडहरू माघी, माघे संक्रान्ति, उधौली, उभौली, सोनाम, ग्याल्बो, तमु ल्होछार, ल्होसार, संक्, गाईजात्रा, सिरूवा आदि पर्वहरुका दिन देशव्यापी रुपमा सार्वजनिक विदाको व्यवस्था गरिदिन हुन समस्त आदिवासी समुदायको तर्फबाट माग गर्दछौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
आदिवासी समुदायको आफ्नै सभ्यताले विकास गरेको भिन्न भाषा, धर्म, संस्कृति, परम्पराहरुले विश्वमा नेपाललाई बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक विविधताले भरिषूर्ण रंगिन मुलुकको रुपमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
प्रतिक्रिया