काठमाण्डु– रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि नेपाललाई विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाले राहत तथा पुनःस्थापनाका लागि आर्थिक, सामग्री तथा प्राविधिक सहयोग उपलब्ध गराएका छन्।
बाढी आएको पहिलो दिनदेखि नै विभिन्न देशले नेपाललाई सहयोगको प्रतिबद्धता जनाउँदै राहत सामग्री पठाइरहेका छन्।
प्रधानमन्त्री बालेन शाहका अनुसार भारतले ५ चरणमा ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ। भारतले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि विज्ञ टोलीसमेत परिचालन गरेको छ।
चीनले ३० करोड रुपैयाँ र ५० टन राहत सामग्री उपलब्ध गराइसकेको छ। थप रूपमा प्रभावित क्षेत्रमा प्रयोग गर्न ३० वटा बेलिब्रिज सहयोग गर्न नेपाल सरकारले चीनसँग अनुरोध गरेको छ।
यूएईले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने थप १० मिलियन अमेरिकी डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कतारले ४० टन राहत सामग्री उपलब्ध गराएको छ।
त्यस्तै, पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुँदैछ। श्रीलंकाले १० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ भने बंगलादेशले राहत सामग्री पठाउने तयारी गरिरहेको छ।
अमेरिकाले ५ लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अष्ट्रेलियाले १ मिलियन अमेरिकी डलर नगद सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै, विशेषज्ञ तथा ड्रोन अपरेटरसहितको टोली नेपाल पठाउने तयारी गरेको छ।
बेलायत (यूके)ले ५ मिलियन पाउण्ड सहयोग गर्ने घोषणा गरेको छ। युरोपेली संघले २ मिलियन यूरो सहयोग गर्ने जनाएको छ।
यस्तै, स्विट्जरल्याण्डले १ मिलियन अमेरिकी डलर, जर्मनीले २ मिलियन अमेरिकी डलर, आयरल्याण्डले ५ लाख यूरो, डेनमार्कले ३५ लाख डेनिस क्रोनर, चेक रिपब्लिकले २५ लाख चेक कोरुना र नर्वेले १२.७ मिलियन नर्वेजियन क्रोन सहयोगको घोषणा गरेका छन्।
फ्रान्सले प्रभावित क्षेत्रका २०० घरपरिवारका लागि आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। लक्जेम्बर्ग र लाटभियाले पनि राहत सामग्री उपलब्ध गराएका छन्।
सरकारका अनुसार केही अन्य देशले समेत सहयोगको प्रस्ताव गरेका छन्। तर नेपालले आफ्नो आवश्यकता र प्राथमिकताका आधारमा सहयोग माग गरिरहेको जनाएको छ।
विश्व बैंक र एडीबीबाट पनि सहयोग
बाढीपछि दीर्घकालीन पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट समेत सहयोगको प्रतिबद्धता आएको प्रधानमन्त्रीले जानकारी दिए ।
विश्व बैंकले १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। त्यस्तै, एसियाली विकास बैंक (एडीबी_ले बजेटरी सहयोगका लागि ५ मिलियन अमेरिकी डलर अनुदान तथा प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
सरकारले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगलाई बाढी प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा उपयोग गरिने जनाएको छ।




प्रतिक्रिया