काठमाण्डु – सरकारले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ ।
परराष्ट्र मन्त्रालयले नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अरु देश भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको हो ।
इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अरु प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकलाई हालको
जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा नगर्नु हुन मन्त्रालयले अनुरोध गरेको छ ।
त्यस्तै, इजरायल र इरानबाहेक मध्यपूर्वका अरु मुलुकको भ्रमण वा वैदेशिक रोजगारी र अरु प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्न परराष्ट्रले आग्रह गरेको छ ।
इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको उल्लेख गर्दै मन्त्रालयले त्यहाँ रहेका नेपाली नागरिक अहिलेसम्म सुरक्षित रहेको र उनीहरुको हितको रक्षा गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने जनाएको छ ।
स्वेच्छाले नेपाल फर्कन चाहने नेपाली नागरिकका लागि हाल इजरायल र इरानको हवाईमार्ग बन्द रहेका कारण तेस्रो देश हुँदै नेपाल फर्कनु परेमा तेस्रो देशको ट्रान्जिट भिसा लिनुपर्ने अवस्था आउन सक्ने भएकाले यसका लागि सहजीकरण गर्न आवश्यक पहल गरिने पनि मन्त्रालयको उल्लेख गरेको छ ।
इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई आफ्नो सुरक्षालाई प्राथमिकतामा राखी तोकेको समय र ठाउँमा बाहेक घर वा बंकर र सेल्टरबाट बाहिर ननिस्कन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
साथै इजरायल सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थानसम्बन्धी सूचना, मापदण्ड तथा जानकारी निरन्तर रुपमा लिन र पालना गर्न अनुरोध गरिएको छ ।
मन्त्रालयले नेपाली समुदाय र नेपाली राजदूतावाससँग नियमित रुपमा सम्पर्कमा रहन, परराष्ट्र मन्त्रालय र राजदूतावासले जारी गरेका सूचना तथा यात्रासम्बन्धी जानकारी नियमित रुपमा हेर्न आग्रह गरेको छ ।
संकट आइपरेमा उद्धार तथा सहायता र ट्रेकिङ गर्न सहजताका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र नेपाली राजदूतावास, तेल अभिभको ‘वेबसाइटमा राखिएको अनलाइन लिङ्कमा दर्ता गरी आफ्नो विवरण फाराम यथाशीघ्र भर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।


प्रतिक्रिया