नेपालले हङकङसँग ३ विकेटले पराजित,एसिया कप खेल्ने सपना अधुराे


काठमाडाैं– एसीसी एसिया कप छनोटको अन्तिम खेलमा हङकङसँग ३ विकेटले पराजित हुँदै नेपाल लिग चरणबाटै बाहिरिएको छ ।  हङकङसँगकाे हार सँगै नेपालकाे एसिया कप खेल्ने सपना अधुराे बनेकाे छ ।

हालै मात्र एकदिवसीय मान्यता पाएको नेपालले छनोट प्रतियोगिता जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य लिएको थियो । किनकी छनोटको विजेता एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा एमा पर्छ ।

तर, छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाल सुरुवाति दुई खेलमा ओमान र यूएईसँग हार्‍यो । त्यसपछि मलेसिया र सिंगापुरलाई हराएपछि अन्तिम खेलमा हङकङलाई ठूलो अन्तरले हराउने र अर्को खेलमा ओमानले यूएईले त्यसरी नै हराउने हो भने नेपाल शीर्ष दुईमा पर्दै छनोटको फाइनलमा पुग्ने सम्भावना थियो ।

नेपालले प्रस्तुत गरेको ९६ रनको लक्ष्य हङकङले ७ विकेट गुमाउँदै ३३ औं ओभरमा पूरा गरेको थियाे ।  हङकङका लागि अंशुमन रथले अर्धशतक प्रहार गरे । उनले ८२ बलमा ३ चौका र १ छक्कासहित ५२ रन प्रहार गरे ।

किञ्चित शाहले ११ रनको योगदान दिए । जेम्स कार्टर ८, बाबर हायात २ र निजाकत खान २ रनमा आउट भएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ५ तथा सागर पुन र वसन्त रेग्मीले १-१ विकेट लिए ।

त्यसअघि युकेएम ओभलमा नेपालले खराब ब्याटिङ प्रदर्शन ३७ ओभर ५ बलमा सबै विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो । नेपालका लागि मोहम्मद आरिफ शेखले सर्वाधिक रन बनाए । अनिल कुमार साह र बसन्त रेग्मीले समान १५ रन बनाए । पारस खड्का १४, ज्ञानेन्द्र मल्ल १२ रनमा आउट भए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेन ।

हङकङका इसान खानले ४ विकेट लिए । तनविर अफजल र मोहम्मद अजिज खानले समान २ सवकेट लिए । इसन नवाज र नदिम अहमेदले समान १ विकेट लिए । यस पराजयसँगै नेपालले एसिया कप छनोटको यात्रा लिग चरणमै टुंग्याएको छ । नेपालले खेलेका पाँच मध्ये मलेसिया र सिंगापुरलाई मात्र हराउन सक्यो ।

प्रतिक्रिया दिनुहोस
Advertisement