नयाँदिल्लीमा नेपाल–भारत सचिवस्तरीय बैठक


काठमाडौं– नेपाल–भारतका सचिवस्तरीय बैठक नयाँदिल्लीमा बसेको छ।

एकीकृत जाँच चौकी निर्माणसम्बन्धी सञ्चालन समितिको आठौँ बैठक बसेको नेपालस्थित भारतीय दूताबासले जनाएको छ।

सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको सहअध्यक्षता रहेको भारतका सीमा व्यवस्थापन सचिवसहितको उक्त बैठकमा वीरगन्ज र विराटनगरमा निर्माणाधीन एकीकृत जाँच चौकीको वस्तुस्थिति तथा निर्माण प्रगतिबारे परामर्शदाताले जानकारी गराएको थियो।

भैरहवा र नेपालगन्जमा पनि एकीकृत जाँच चौकी निर्माणको तयारीबारे परामर्शदाताले बैठकमा अवगत गराएको तथा निर्माण र सञ्चालनसम्बन्धी सम्पूर्ण समस्या यथाशीघ्र समाधान गरी अघि बढ्न दुवै पक्षले प्रतिबद्धता जनाएका छन्।

वीरगन्ज–रक्सौल र विराटनगर–जोगवनीलाई पहिलो चरणमा निर्माण गर्ने सहमति अनुरुप निर्माणको काम अघि बढाइएको छ।

नेपाल र भारतबीच वस्तु तथा सेवाको प्रवाहका साथै दुवै मुलुकका नागरिकको सहज आवागमनका निम्ति सीमा क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न एकीकृत भन्सार जाँच चौकी र अध्यागमन सञ्चालनका निम्ति दुवै देशले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement