नेपाल–भारत संयुक्त कञ्चनजंघा हिमाल आरोहणको झण्डा हस्तान्तरण

नेपाल–भारत संयुक्त कञ्चनजंघा हिमाल आरोहणको झण्डा हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल–भारत संयुक्त कञ्चनजंघा हिमाल आरोहणमार्फत २ देशबीचको सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्ने विश्वास रक्षामन्त्री मानवीर राईले व्यक्त गरेका छन् ।

नेपाली सेना र भारतीय सेनाको सहभागितामा सञ्चालन भएको नेपाल–भारत संयुक्त कञ्चनजंघा हिमाल आरोहण–२०२५ को सोमबार जंगी अड्डामा आयोजित झण्डा हस्तान्तरण समारोहमा उनले आरोहणले २ राष्ट्रका सेनाबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मद्दत गर्ने बताए ।

विगतमा नेपाली सेना र भारतीय सेनाद्वारा सन् २००३ र सन् २०१३ मा सगरमाथाको संयुक्त आरोहण सम्पन्न भएको थियो । कञ्चनजंघा आरोहण भने संयुक्त सेनाको पहिलो पटक हो । नेपाली सेना र भारतीय सेनाले कञ्चनजंघा शिखर आरोहणमा विस्तृत योजनासहित अटुट अनुशासन, अदम्य साहस, संकल्प र उच्चस्तरको समन्वयमार्फत कठिन चुनौती पार गर्दै सहकार्य र मित्रताको अद्धितीय उदाहरण प्रस्तुत गरेको बताए ।

आरोहण सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने आरोहण दलका सदस्यलाई उनले बधाई ज्ञापन गरे । कार्यक्रममा आरोहण दलका टीम लिडरबाट रक्षामन्त्री मानवीर राई र बलाधिकृत रथी निर्मल थापासमक्ष आरोहणको झण्डा हस्तान्तरण गरिएको थियो ।

युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले संयुक्त आरोहणबारे संक्षिप्त जानकारी दिएका थिए । कार्यक्रममा भारतीय सेनाका प्रतिनिधिमण्डलका प्रमुख लेफ्टीनेन्ट जनरल अजय रामदेवले समेत आरोहण दललाई बधाइ दिँदै २ देशबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

नेपाली सेनाका १० र भारतीय सेनाका ५ गरी जम्मा १५ जना सहभागी संयुक्त कञ्चनजंघा हिमाल आरोहण टोलीले जेठ ५ र ६ गते कञ्चनजंघा हिमालको सफलतापूर्वक आरोहण गरेको थियो । अभियानको विक्रम संवत् २०८१ चैत्र २१ गते भारतको नयाँ दिल्लीमा भारतीय रक्षामन्त्रीको उपस्थितीमा ‘फ्ल्याग अफ सेरेमोनी’ सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, बलाध्यक्ष, रथीवृन्द, नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, संयुक्त कञ्चनजंघा हिमाल आरोहणका सदस्य, ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपालका प्रतिनिधि, अधिकृत तथा सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।