काठमाण्डु – नेपाल र भारतबिच उदाउँदा प्रविधिहरूमा साझेदारी बढाउने र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का क्षेत्रमा द्विपक्षीय अवसरहरू खोज्ने उद्देश्यले काठमाडौँमा एक विशेष सेमिनार आयोजना गरिएको छ।
नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य सङ्घ (एनआईसीसीआई)को संयुक्त तत्वावधानमा ‘उदीयमान प्रविधिमा भारत–नेपाल साझेदारी : एआई सहकार्यका लागि द्विपक्षीय अवसरहरूको खोजी’ विषयक सेमिनार आयोजना गरिएको हो। कार्यक्रममा दुवै देशका व्यवसायी, सरकारी प्रतिनिधि, प्राज्ञिक क्षेत्र र स्टार्टअपहरूका प्रतिनिधिहरूको ठुलो सहभागिता थियो।
सेमिनारमा भारत एआई मिसन अन्तर्गत २४६.७२ करोड भारु आर्थिक तथा कम्प्युट सहयोग प्राप्त गर्न सफल ‘सर्वम एआई’ का सह-संस्थापक एवं सीईओ डा. प्रत्युष कुमारले मुख्य कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा एनआईसीसीआईका अध्यक्ष सुनील केसीले नेपाल र भारतबिच प्रविधिमा आधारित आर्थिक सहयोगलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले भारतीय एआई क्षेत्रलाई नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न र नेपालका सार्वजनिक तथा निजी क्षेत्रसँग साझेदारीका हात अगाडि बढाउन आग्रह गरे।
भारतीय दूतावासका वाणिज्य उपसचिव सुमन शेखरले दुई देशबिचको बलियो आर्थिक तथा वाणिज्य सम्बन्धको चर्चा गर्दै डिजिटल क्षमता अभिवृद्धि, स्टार्टअप सहयोग र नयाँ प्रविधिमा ज्ञान आदानप्रदान गर्न दुवै देशको साझा चासो रहेको बताए।
उनले भारत–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क कार्यक्रमको दोस्रो संस्करण यही जुन १, २०२६ देखि सुरु भइसकेको जानकारी दिए।
यस अन्तर्गत नेपालका २५ वटा स्टार्टअपहरू चेन्नाईस्थित आईआईटी मद्रास प्रवर्तक टेक्नोलोजी फाउन्डेसनमा ८ हप्ताको पूर्ण–वित्तपोषित तालिम र नवप्रवर्तन कार्यक्रममा सहभागी भइरहेका छन्। यसअघिको पहिलो संस्करणमा नेपालका ९ वटा स्टार्टअपले आईआईटी मद्रासबाट इन्क्युबेसन अफर प्राप्त गरिसकेका छन्।
आफ्नो प्रस्तुतिमा डा. कुमारले ठुला भाषा मोडेलहरू ९एलएलएम० सहित एआईको विकास र यसले एआईको प्रारम्भिक चरणमा रहेका देशहरूमा पार्ने प्रभावबारे चर्चा गरे। उनले नयाँ दिल्लीमा भएको एआई इम्प्याक्ट समिटका सिकाइ र भारत एआई मिसनका ७ वटा स्तम्भहरू (कम्प्युट, डाटासेट्स, इनोभेसन, एप्लिकेसन डेभलपमेन्ट, फ्युचर स्किल्स, स्टार्टअप फाइनान्सिङ, र सेफ एन्ड ट्रस्टेड एआई) बारे प्रकाश पारे।
इन्टरनेट र प्रविधिको पहुँचभन्दा बाहिर रहेका समुदायसम्म पुग्न ‘स्पीच टु टेक्स्ट’ (बोलाईलाई लेखाइमा बदल्ने) मोडेलको महत्त्व, डाटा सार्वभौमसत्ता र स्वदेशी प्रतिभाको विकास जस्ता व्यावहारिक पक्षमा उनले जोड दिए। नेपालको स्टार्टअप समुदाय र प्राज्ञिक संस्थाहरूले यस दिशामा कदम चाल्न सक्ने भन्दै उनले संयुक्त अनुसन्धान र तालिम कार्यक्रममार्फत नेपाल–भारत सहकार्यलाई ठोस रूप दिन सकिने औँल्याए।
यसैबिच, प्रविधिको क्षेत्रमा नेपाल र भारतबिचको सहकार्य थप गहिरिँदै गएको छ। भारत सरकारको इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालय अन्तर्गतको डिजिटल इन्डिया भाषिनी डिभिजन (डीआईबीडी) र काठमाडौँ विश्वविद्यालयको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (डीपीआई–एआई) बिच एउटा समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ।
यस सम्झौताले ल्याङ्ग्वेज एआई, बहुभाषिक डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र दुवै देशमा समावेशी डिजिटल इकोसिस्टमको विकासका लागि सहकार्यको रूपरेखा तयार गर्नेछ। गत हप्ता नयाँ दिल्लीमा भएको द्विपक्षीय भेटघाटका क्रममा भारतीय विदेशमन्त्री डा. एस. जयशङ्कर और नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा डीआईबीडीका सीईओ अमिताभ नाग र काठमाडौँ विश्वविद्यालयका एसोसिएट डिन प्राध्यापक बालकृष्ण बालले सो समझदारी पत्र आदानप्रदान गरेका थिए।
यसअघि सन् २०२६ को फेब्रुअरी १६ देखि २१ सम्म नयाँ दिल्लीको भारत मण्डपममा आयोजित ‘इन्डिया एआई इम्प्याक्ट समिट २०२६’ मा १०० भन्दा बढी देशका प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो। उक्त शिखर सम्मेलनले ९२ देश र अन्तर्राष्ट्रिय सङ्गठनहरूद्वारा अनुमोदित समिट घोषणापत्र, जिम्मेवार एआई सुशासनसम्बन्धी स्वैच्छिक रूपरेखाहरू र २०० अर्ब अमेरिकी डलरभन्दा बढीको लगानी प्रतिबद्धता जस्ता ऐतिहासिक विश्वव्यापी सहमतिहरू कायम गरेको थियो। सोही सम्मेलनका क्रममा भारतले आफ्नो सार्वभौम कम्प्युट क्षमतामा विद्यमान ३८,००० जीपीयूसँगै थप २०,००० जीपीयू विस्तार गर्ने घोषणा समेत गरेको थियो।




प्रतिक्रिया