नेपाल र भारतले जारी गरेको २४ बुँदे संयुक्त वक्तव्यमा के छ ?

नेपाल र भारतले जारी गरेको २४ बुँदे संयुक्त वक्तव्यमा के छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली- नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा दुई देशबीच विभिन्न विषयमा सहमति भएको छ। ती सहमतिबारेमा सोमबार अपराह्न दुवै देशले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

नेपालका प्रधानमन्त्रीको भारतको राजकीय भ्रमणसम्बन्धी संयुक्त प्रेस विज्ञप्ति

१. भ्रमण र प्रतिनिधिमण्डल
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले २२ देखि २३ नोभेम्बर २०२६ सम्म भारतको राजकीय भ्रमण गरे। उनीसँग उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल पनि सहभागी थियो। प्रधानमन्त्री पद सम्हालेपछि शाहको यो पहिलो भारत भ्रमण हो।

२. औपचारिक स्वागत र भेटघाट
प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरियो। उनले राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरे। भारतका विदेशमन्त्री डा. एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेटवार्ता गरे।

३. मोदी–बालेन वार्ता
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग वार्ता गरे र उनको सम्मानमा दिवाभोज आयोजना गरे। दुई नेताबीचको छलफलमा द्विपक्षीय सहकार्यका प्रमुख क्षेत्र, साझा चासोका क्षेत्रीय विषय र विश्वव्यापी घटनाक्रम समेटिएका थिए।

४. बाढीपछिको सहयोगप्रति नेपालको आभार
प्रधानमन्त्री शाहले नेपालमा ठूलो जनधनको क्षति पुर्‍याएको रसुवा–भोटेकोशी बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरे।

५. नेपाललाई २४ हजार करोड रुपैयाँको विकास सहायता
प्रधानमन्त्री मोदीले निकट मित्र तथा छिमेकीका रूपमा नेपालको विकास यात्रामा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता दोहोर्‍याए।

भारतले नेपाललाई १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको छ।

यसमा:

  • ३ हजार ५०० करोड भारतीय रुपैयाँ अर्थात् ५ हजार ६०० करोड नेपाली रुपैयाँ अनुदान सहायता हुनेछ। यो रकम नेपालमा विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनामा खर्च गरिनेछ।
  • ११ हजार ५०० करोड भारतीय रुपैयाँ अर्थात् १८ हजार ४०० करोड नेपाली रुपैयाँ ऋण सहायता हुनेछ। यो ऊर्जा क्षेत्रका परियोजनाका लागि भारतीय रुपैयाँमा उपलब्ध गराइने ऋण सुविधा (लाइन अफ क्रेडिट) हो।
  • सहायता उपलब्ध गराउने प्रक्रिया र कुन–कुन परियोजनामा रकम खर्च गर्ने भन्ने विषय दुवै देशबीचको आपसी परामर्शबाट अन्तिम रूप दिइनेछ।

६. जारी विकास परियोजना र चितवनमा कृषि औद्योगिक पार्क
दुवै नेताले नेपालमा सञ्चालन भइरहेका विकास परियोजनाको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरे। उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को कार्यान्वयनमा भइरहेको प्रगतिलाई पनि स्वागत गरे।

भारत सरकारको सहयोगमा नेपालमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रतिष्ठानको काममा भएको प्रगतिको समीक्षा गरे।

त्यस्तै, भारतको अनुदान सहयोगमा चितवनमा कृषि औद्योगिक पार्क स्थापना गर्ने घोषणालाई दुवै नेताले स्वागत गरे।

७. विकसित भारत र समुन्नत नेपालका लागि संयुक्त भिजन
दुई नेताले ‘विकसित भारत र समुन्नत नेपाल’ का लागि संयुक्त भिजन (साझा दृष्टिकोण) अपनाएका छन्। यसले नेपाल र भारतबीचको भविष्यउन्मुख साझेदारीका लागि मार्गचित्र प्रस्तुत गर्नेछ।

यसमा परम्परागत रूपमा सहकार्य हुँदै आएका आर्थिक तथा विकास साझेदारी, कनेक्टिभिटी, ऊर्जा, जलस्रोत र जनस्तरको सम्बन्धलाई थप विस्तार गर्ने विषय समेटिएका छन्।

त्यसैगरी, जलवायु उत्थानशीलता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा नयाँ सहकार्य विकास गर्ने विषय पनि समावेश छन्।

८. हवाई मार्गसम्बन्धी सहमति
नागरिक उड्डयनका विषयमा दुवै देशबीच छलफल जारी रहेको र त्यसले कनेक्टिभिटी तथा आर्थिक सम्बन्ध विस्तारमा सहयोग पुर्‍याउने दुवै नेताले उल्लेख गरेका छन्।

नेपाल र भारतबीच हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको बी–३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ।

यससम्बन्धी प्रक्रिया र प्राविधिक पक्ष टुंग्याउन दुवै पक्षबीच प्राविधिक परामर्श हुनेछ। छलफलमा रहेका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावलाई पनि सम्बोधन गरिनेछ।

९. काण्डला र पारादीप बन्दरगाहमा पहुँच
भारतले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल बन्दरगाह (काण्डला) हुँदै नयाँ मार्ग उपलब्ध गराउने घोषणा गरेको छ।

त्यस्तै, आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहमा पनि नेपाललाई पहुँच उपलब्ध गराइनेछ।

१०. सीमापार कनेक्टिभिटी र पूर्वाधार
दुई नेताले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आईसीपी) तथा पेट्रोलियम पाइपलाइन निर्माणमार्फत सीमापार कनेक्टिभिटी र सीमा पूर्वाधार सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

११. अयोध्या–जनकपुर रेल सेवा उद्घाटन
दुवै प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गरेका छन्।

यसले दुई सहरबीचको आवागमन सहज बनाउनुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नेछ। भारत र नेपालबीचको सभ्यतागत सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

दुवै नेताले बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन सर्किट विकास गर्न यस्तै प्रकारका अन्य सम्पर्क विस्तारको सम्भावना खोज्ने सहमति पनि गरेका छन्।

१२. रक्सौल–काठमाडौं रेलमार्ग र पूर्व–पश्चिम रेलमार्ग
प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे (स्थलगत स्थान सर्वेक्षण) सम्पन्न भएको दुवै नेताले घोषणा गरेका छन्।

त्यस्तै, नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकास गर्न दुवै देशले सहकार्य गर्ने भएका छन्।

१३. एकीकृत जाँच चौकी
दुई नेताले बनबासामा नयाँ एकीकृत जाँच चौकी निर्माणको शिलान्यास भर्चुअल माध्यमबाट गरेका छन्।

भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माण भइरहेका एकीकृत जाँच चौकीको प्रगतिलाई पनि स्वागत गरिएको छ। भारत र नेपालबीच तीनवटा एकीकृत जाँच चौकी यसअघि नै सञ्चालनमा छन्।

१४. दार्चुला–धार्चुला मोटरेबल पुल उद्घाटन
भारतको धार्चुला र नेपालको दार्चुलालाई जोड्ने नयाँ सीमापार मोटरेबल पुलको उद्घाटन गरिएको छ। यसले पश्चिमी नेपाल र भारतबीचको प्रत्यक्ष आवागमनलाई सहज बनाउनेछ।

१५. सीमा स्तम्भ मर्मत र बाँकी सीमा समस्या
दुई देशले सीमा स्तम्भको मर्मत तथा सम्भारका लागि भइरहेको संयुक्त स्थलगत कामको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका छन्। बाँकी रहेका सीमा समस्याबारे काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको छ।

१६. पेट्रोलियम पाइपलाइन र झापामा टर्मिनल
भारत र नेपालबीचको सीमापार पेट्रोलियम पूर्वाधार विस्तारअन्तर्गत मोतिहारी–अमलेखगन्ज पाइपलाइनको दोस्रो चरण नेपाली जनतालाई समर्पण गरिएको छ।

त्यस्तै, नेपालमा झापास्थित पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास भर्चुअल माध्यमबाट गरिएको छ।

सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको काम पनि छिट्टै सुरु गर्न दुवै नेताले जोड दिएका छन्। भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्य गर्ने सम्भावनासमेत खोज्ने सहमति भएको छ।

१७. जलविद्युत् र तल्लो अरुण आयोजना
भारत र नेपालबीचको विद्युत् क्षेत्र सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण तथा दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुसार जलविद्युत् क्षेत्रमा भइरहेको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्।

नेपालमा भारतीय कम्पनीहरू जलविद्युत् क्षेत्रमा सक्रिय रूपमा संलग्न रहेको विषयलाई स्वागत गर्दै ती कम्पनीले विकास गरिरहेका आयोजनाको काम छिटो सम्पन्न गर्न सहमति भएको छ।

यस अवसरमा दुई नेताले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास भर्चुअल माध्यमबाट गरेका छन्।

१८. पञ्चेश्वर, सप्तकोशी र सुनकोशी आयोजना
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिटो अन्तिम रूप दिन पञ्चेश्वर विकास प्राधिकरण र संयुक्त जलस्रोत समितिलाई दुवै नेताले निर्देशन दिएका छन्। परियोजना कार्यान्वयनको काम सुरु गर्न पनि भनिएको छ।

त्यस्तै, जलस्रोतको पारस्परिक लाभका लागि उपयोग र बाढीको प्रभाव न्यूनीकरण गर्न सप्तकोशी तथा सुनकोशी बहुउद्देश्यीय परियोजनाको डीपीआर तयार पार्ने काम तीव्र बनाउने सहमति भएको छ।

१९. दुई सीमापार विद्युत् प्रसारण लाइन
नेपालको इनरुवा–भारतको न्यू पूर्णिया र नेपालको दोधारा–भारतको बरेली जोड्ने उच्च क्षमताका दुई सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी (जेभी) गठन गर्ने प्रक्रियामा प्रगति भएको दुवै पक्षले उल्लेख गरेका छन्।

२०. नेपालमा आईआईटीको शाखा स्थापना
भारतले नेपालमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को विदेशी शाखा स्थापना गर्ने सहमति भएको छ।

यसले नेपालको शिक्षा क्षेत्रमा क्षमता अभिवृद्धि गर्नुका साथै रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रविधि, स्टार्टअप, डिजिटल तथा वित्तीय कनेक्टिभिटीका क्षेत्रमा नेपाल–भारत सहकार्य विस्तार भइरहेको विषयलाई पनि दुवै नेताले स्वागत गरेका छन्।

२१. बैंकिङ र दूरसञ्चार सेवामा सहज पहुँच
एक देशका नागरिक अर्को देशमा बसोबास गर्दा बैंकिङ तथा दूरसञ्चारलगायतका सेवा सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने आवश्यकता दुवै पक्षले स्वीकार गरेका छन्।

२२. आठवटा समझदारीपत्र आदानप्रदान
भ्रमणका क्रममा नेपाल र भारतबीच आठवटा समझदारीपत्र आदानप्रदान भएका छन्।

१. फरेन्सिक विज्ञानमा शैक्षिक तथा अनुसन्धान सहकार्य: भारतको गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच।

२. प्रहरी तालिम: भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच।

३. प्रशासनिक अधिकारीको क्षमता अभिवृद्धि: भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको प्रशासनिक कर्मचारी कलेजबीच नेपाली सरकारी कर्मचारीलाई प्रशिक्षण दिने विषयमा।

४. आयुर्वेद तथा परम्परागत चिकित्सा: भारत र नेपाल सरकारबीच आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिमा सहकार्य गर्ने विषयमा।

५. स्याटेलाइट सञ्चार: भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइट उपयोगका लागि सञ्चार सञ्जाल स्थापना गर्ने विषयमा।

६. दिगो सहरी विकास: भारत र नेपाल सरकारबीच प्राविधिक सहकार्य गर्ने विषयमा।

७. स्वास्थ्य तथा चिकित्सा: भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य गर्ने विषयमा।

८. पशुपालन तथा मत्स्य विकास: भारत र नेपाल सरकारबीच पशुपालन तथा मत्स्यपालन क्षेत्रको विकासमा सहकार्य गर्ने विषयमा।

२३. मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा
प्रधानमन्त्री शाहले भारत सरकारले आफू र आफ्नो प्रतिनिधिमण्डललाई दिएको न्यानो आतिथ्यका लागि भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरे।

उनले मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। मोदीले निमन्त्रणा स्वीकार गरेका छन्। भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिनेछ।

२४. दुई देशको सम्बन्धप्रति प्रतिबद्धता
नेपाल र भारतबीचको साझेदारी गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान र समझदारीमा आधारित रहेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ।

जनस्तरको बलियो सम्बन्ध तथा निकट आर्थिक र विकास सहकार्यले दुई देशको साझेदारीलाई थप मजबुत बनाएको दुवै पक्षको भनाइ छ।

यस भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय भ्रमणको परम्परालाई निरन्तरता दिएको र सम्बन्धलाई थप अघि बढाउने प्रतिबद्धता पुनः पुष्टि गरेको छ।