भारतीय गणतन्त्र दिवस मनाइयो, नेपाललाई ३० वटा एम्बुलेन्स हस्तान्तरण


काठमाडौं– भारतले आफ्नो ७० औँ गणतन्त्र दिवसलाई राजधानी नयाँ दिल्लीमा शनिबार मनाएको छ। राजधानीबाहेक विभिन्न राज्यका राजधानी, विदेशी नियोग तथा स्थानीयस्तरमा पनि विभिन्न कार्यक्रमसाथ दिवसलाई भव्यताका साथ मनाइएको छ ।

केन्द्रीय राजधानी नयाँ दिल्लीमा स्वदेशी तथा विदेशी पाहुनाहरूको भव्य सहभागितासहित भएको ७० औँ गणतन्त्र दिवस कार्यक्रमको मुख्य अतिथि यस बर्ष दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसालाई बनाइएको थियो ।

कार्यक्रमलाई सुरक्षित एवम् व्यवस्थित बनाउन करिब २५ हजार प्रहरी तथा अर्ध सैनिक बललाई दिल्लीमा तैनाद गरिएको थियो । नयाँ दिल्लीको कार्यक्रमको प्रमुख आकर्षण ऊँट सवार र मोटरसाइकल ‘स्टन्ट राइडिङ‘ रहेका थिए भने सेनाले विभिन्न कलात्मक सैन्य प्रस्तुति समेत समारोहमा गरेका थिए ।

सन् १९५० मा नयाँ संविधान लागु भएको जनवरी २६ (आजकै दिन) लाई भारतले गणतन्त्र दिवसका रूपमा मनाउने गरेको छ । भारत बेलायतबाट सन् १९४७ मा स्वतन्त्र भएपनि त्यसपछिका तीन बर्ष सङ्क्रमणकालीन समयका रूपमा विताएको थियो ।

राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा भारतीय राष्ट्रपतिले भारतीय राष्ट्रपतिले शुक्रबार सम्पूर्ण देशबासीलाई आगामी मेमा हुन लागेको आम निर्वाचनमा सक्रियताका साथ सहभागी भै आफूलाई मन परेको उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।

यसैबीच,  काठमाडौँमा भारतीय दूतावासले पनि एक कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाएको छ। कार्यक्रममा भारतीय राजदूत मन्जिव सिंह पुरीले भारतको राष्ट्रिय झण्डा फहराउनका साथै भारतका राष्ट्रपतिले गणतन्त्र दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देश वाचन गरेका थिए।

कार्यक्रममा भारत सरकारले भारतीय सेनामा कार्यरत रहँदा विभिन्न घटनामा बीरगति प्राप्त गरेका सैनिकका परिवारलाई सहयोग स्वरुप निर्वाहभत्ता ७ करोड २६ लाख नगद उपलब्ध गराइएको थियो। यस्तै दुतावासले नेपालका विभिन्न जिल्लाका अस्पताल, गैरनाफामूलक संस्था तथा शैक्षिक प्रतिष्ठानलाई ३० वटा एम्बुलेन्स तथा ६ वटा बस सहयोग गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement