काठमाण्डु – चीनले आफ्ना नागरिकलाई नेपाल–भारत सीमा क्षेत्रमा नजान अपिल गरेको छ ।
केही चिनियाँ नागरिकहरू सीमा क्षेत्रबाट पक्राउ परेपछि चीनको यस्तो अपिल आएको हो ।
हालै भारत र पाकिस्तानबीच भएको युद्धपछि भारतले नेपाल–भारत सीमाक्षेत्रमा गस्ती र निरीक्षण बढाएको खबरसँगै नेपालस्थित चिनियाँ दूतावासले नेपाल भ्रमणमा रहेका चिनियाँ नागरिकहरूलाई नेपाल–भारत सीमाक्षेत्रमा नजान आग्रह गरेको हो ।
तर पनि केही चिनियाँ नागरिकहरू सरकारी आग्रहको पालना नगरी सीमातर्फ जाने प्रयास गर्दा फक्राउ परेका छन् । भारतीय सीमा क्षेत्रमा गएका चिनियाँ नागरिकलाई भारतीय सीमा सुरक्षा बलले अवैध रूपमा प्रवेश गरेको आरोपमा पक्राउ गरेको घटनाहरू भएको दूतावासले शुक्रबार जानकारी दिएको छ ।
चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सका अनुसार चिनियाँ दूतावासले नेपाल भ्रमणमा रहेका चिनियाँ नागरिकहरूलाई पटक–पटक नेपाल–भारत सीमा क्षेत्रमा नजान चेतावनी दिँदै आएको भए पनि केही नागरिकहरूले सो सल्लाहलाई बेवास्ता गर्दै सीमा क्षेत्रमा जान अडिग रहेकाले भारतीय सीमा सुरक्षा बलले उनीहरूलाई अवैध रूपमा भारत प्रवेश गरेको आरोपमा पक्राउ गरेका घटनाहरू भएका छन् ।
दूतावासका अनुसार नेपाल र भारतबीचको सीमा खुला सीमा रहेको र विदेशी नागरिकहरूले नेपाल हुँदै भारत जान भारतको भिसा अनिवार्य रूपमा लिनुपर्छ ।
चिनियाँ नागरिकहरूलाई कानुनी कारबाही वा व्यक्तिगत क्षतिको जोखिमबाट बच्नका लागि नेपाल–भारत सीमाक्षेत्रबाट टाढा रहन सुझाव दिइएको छ ।
प्रतिक्रिया