प्रचण्ड र नेपाललाई भारतीय राजदूतले भनेः कर्मचारीबाट सीमा विवाद हल हुँदैन


काठमाण्डु – नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा राजनीतिक भेटघाटमा व्यस्त भएका छन् । केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन सम्वाद भएपछि राजदूत क्वात्रा राजनीतिक भेटघाटमा सक्रिय भएका हुन् ।

राजदूत क्वात्राले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई जना शीर्ष नेताहरुसँग भेट वार्ता गरेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका राजदूत क्वात्राले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए । अध्यक्ष प्रचण्ड निवास खुमलटार र नेता नेपाल निवास कोटेश्वर पुगेर राजदूत क्वात्राले समयसामयिक राजनीति र सीमा विवादबारे छलफल गरेका थिए ।

भेटका क्रममा उनले भारतसँगको सीमा विवाद दुई देशका प्रधानमन्त्रीले हल गर्नुपर्ने बताएका थिए । राजदूत क्वात्राले नेपालसँगको सीमा विवाद समाधान कर्मचारी तहबाट सम्भव नहुने भएकाले राजनीतिक तहबाट हल गर्नुपर्ने सुझाव दिएका थिए ।

‘सचिवस्तरबाट सीमा विवाद समाधान नहुने भएकाले राजनीतिक नेतृत्वबाट नै पहल गर्नुपर्छ’, नेताहरुसँगको भेटमा राजदूतको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘दुई देशबीचको सम्बन्धलाई मध्यनजर गर्दै प्रधानमन्त्रीस्तरबाट सीमा विवाद हल गरौं ।’

भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री ओलीको भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा टेलिफोन सम्बाद भएको थियो ।

नेपालले भारतले अतिक्रमण गरेको भूभागलाई समेटेर नेपालले नयाँ नक्सा प्रकाशित गरेपछि दुवै देशका प्रधानमन्त्रीबीच पहिलोपटक कुराकानी भएको हो ।

प्रधानमन्त्री ओलीले मोदीको छिमेक प्राथमिकता नीतिको प्रशंसा गर्दै सार्थक द्वीपक्षीय सहयोगका लागि नेपाल तत्पर रहेको बताएका थिए ।

ओली र मोदीबीच कोभिड–१९ विरुद्ध भइरहेका पछिल्लो प्रयासबारे छलफल हुनुका साथै मिलेर काम गर्ने समझदारी भएको थियो ।

दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा सम्वादलाई जारी राख्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement