भारतीय विदेश सचिव मिस्रीले समकक्षी राईसँग भेट्दै

भारतीय विदेश सचिव मिस्रीले समकक्षी राईसँग भेट्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले बुधबार आफ्ना नेपाली समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गर्ने भएका छन्।

नेपाल भ्रमणमा रहेका मिस्रीले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्षबारे छलफल भएको थियो।

मन्त्रालयका अनुसार भेटमा दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा ऐतिहासिक मित्रतालाई थप गहिरो बनाउने विषयमा विचार आदानप्रदान भएको छ।

बिहीबार परराष्ट्र सचिव राईसँग हुने भेटवार्तामा पनि नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गरिने भएको छ। त्यस क्रममा द्विपक्षीय हित, आपसी सहकार्य तथा दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विषयमा छलफल हुने कार्यक्रम छ। दुवै देशका अधिकारीहरू पनि छलफलमा सहभागी हुनेछन्।

परराष्ट्र सचिव राईको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका मिस्रीको यो भ्रमणलाई प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणसँग जोडेर हेरिएको छ।

प्रधानमन्त्री शाह मङ्सिरभित्र भारत भ्रमणमा जान सक्ने चर्चा छ। यद्यपि, भ्रमणको मिति र औपचारिक कार्यसूचीबारे अहिलेसम्म जानकारी सार्वजनिक भएको छैन।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रारम्भिक तयारी भइरहेको संकेत दिए पनि विस्तृत तयारी र मितिबारे औपचारिक जानकारी दिएको छैन।