नेपाल-कोरिया सहकार्य विस्तार गर्न आईआरजीडीडी र केआईटीबीच समझदारी

नेपाल-कोरिया सहकार्य विस्तार गर्न आईआरजीडीडी र केआईटीबीच समझदारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालको इन्टरनेसनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डायलग (आईआरजीडीडी) र गणतन्त्र कोरियाको कोरिया एसोसिएसन फर एआई एन्ड आईसीटी प्रमोशन (केआईटी) बीच प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), सूचना तथा सञ्चार प्रविधि (आईसीटी), डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा आपसी हितका अन्य क्षेत्रमा सहकार्यको ढाँचा निर्माण गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

आईआरजीडीडीको प्रविधि कूटनीति एजेन्डालाई अघि बढाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा लिइएको उक्त समझदारीपत्रमा भर्चुअल माध्यमबाट हस्ताक्षर गरिएको हो ।

यसले कूटनीतिलाई उदीयमान प्रविधि, नवप्रवर्तन प्रणाली, ज्ञान आदानप्रदान तथा आर्थिक अवसरसँग जोड्ने उद्देश्यसहित ठोस अन्तर्राष्ट्रिय साझेदारी निर्माण गर्ने आईआरजीडीडीको व्यापक प्रयासलाई पनि अघि बढाउने अपेक्षा गरिएको छ ।

आईआरजीडीडीले आफ्नो प्रविधि कूटनीति एजेन्डामार्फत प्राविधिक रूपान्तरणबाट उत्पन्न हुने रणनीतिक अवसर र चुनौतीबारे सरकार, कूटनीतिक निकाय, प्रविधि संस्था, व्यवसाय, ज्ञानमूलक संस्था तथा अन्य सरोकारवालाबीच संवाद र सहकार्य प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

नेपाल र कोरियाबीचको लामो समयदेखिको द्विपक्षीय सम्बन्ध पछिल्ला वर्षहरूमा परम्परागत सहकार्यका क्षेत्रसँगै प्रविधि र नवप्रवर्तनतर्फ पनि विस्तार हुँदै गएको छ ।

नेपाल सरकारले कोरियासँग सहकार्यका प्राथमिक क्षेत्रमध्ये प्रविधिलाई पनि समेटेको छ। हालका द्विपक्षीय संवादहरूमा उद्योग, व्यापार, ऊर्जा, पूर्वाधार, सम्पर्क सञ्जाल तथा जनस्तरको सम्बन्धमा थप सहकार्यको आवश्यकतामा पनि जोड दिइएको छ ।

यही सन्दर्भमा आईआरजीडीडी र केआईटीबीच भएको समझदारीले नेपाल–कोरिया सम्बन्धमा थप दूरदर्शी र ज्ञानमा आधारित आयाम थप्ने लक्ष्य राखेको छ, जहाँ प्रविधि सहकार्यको एउटा क्षेत्र मात्र नभई कूटनीति, आर्थिक सम्पर्क र संस्थागत साझेदारीको माध्यमसमेत बन्ने अपेक्षा गरिएको छ ।

समझदारीका अवसरमा बोल्दै आईआरजीडीडीकी अध्यक्ष राजदूत डा. शर्मिला पराजुली ढकालले साझेदारीले संस्थाको प्रविधि कूटनीति एजेन्डालाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।

उनले यस सहकार्यले नेपाल र कोरियाबीच ज्ञान आदानप्रदान, संस्थागत सहकार्य तथा अर्थपूर्ण सहभागिताका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिन् ।

केआईटीका कार्यकारी उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. जेओङ की किमले उक्त समझदारीले दुई देशबीच एआई, आईसीटी, डिजिटल रूपान्तरण तथा नवप्रवर्तनका क्षेत्रमा व्यावहारिक सहकार्य र आदानप्रदानको आधार तयार गर्ने विश्वास व्यक्त गरे ।

आईआरजीडीडी–केआईटी साझेदारी संस्थागत समझदारीमा हस्ताक्षर मात्र नभई प्रविधि र नवप्रवर्तनलाई नेपाल र गणतन्त्र कोरियाबीचको उदीयमान पुलका रूपमा स्थापित गर्ने प्रयास पनि भएको बताइएको छ ।

यसले लामो समयदेखिको द्विपक्षीय सम्बन्धलाई थप डिजिटल रूपमा जोडिएको र भविष्यउन्मुख साझेदारीतर्फ विकास गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ ।