बाढीपीडितको खोज–उद्धार र पुनर्निर्माणमा नेपाललाई सघाउने कोरियाको प्रतिबद्धता

बाढीपीडितको खोज–उद्धार र पुनर्निर्माणमा नेपाललाई सघाउने कोरियाको प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ।

भेटमा भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्य, बाढीमा बेपत्ता भएका कोरियाली नागरिकको खोजी तथा उद्धार र नेपाल–कोरिया द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ।

मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिलिफ टिम पठाएकोमा कोरिया सरकारप्रति आभार व्यक्त गरे। साथै, बाढीपीडितका लागि उपलब्ध गराइएको मानवीय सहायता र राहत सामग्रीका लागि धन्यवाद दिए।

उनले विपद्पछिको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै दिगो तथा सुरक्षित पूर्वाधार निर्माण र ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाइने बताए।

कोरियाली विदेशमन्त्री ह्युनले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न आफ्नो सरकार इच्छुक रहेको बताए। जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोगिरहेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी रहेको उल्लेख गर्दै उनले जलवायुजन्य विपद्का विषयमा नेपाल र कोरियाले अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्नुपर्नेमा जोड दिए।

उनले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगको विषयमा कोरियाले समेत आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।

भेटमा दुवै मन्त्रीले नेपाल र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सहकार्यलाई थप सुदृढ गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए।

भेटवार्ताका क्रममा दुवै परराष्ट्रमन्त्रीहरूले नेपाल र गणतन्त्र कोरियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास, समझदारी र सहकार्यलाई अझ सुदृढ एवं व्यापक बनाउँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन निकट सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।