लक्जेम्बर्गमा नेपाल-युरोप आर्थिक साझेदारी विस्तार गर्न सम्मेलन हुँदै

लक्जेम्बर्गमा नेपाल-युरोप आर्थिक साझेदारी विस्तार गर्न सम्मेलन हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल र युरोपबीच व्यापार, प्रविधि, लगानी तथा पर्यटनका क्षेत्रमा सहकार्यका नयाँ अवसर पहिचान गर्ने उद्देश्यले लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

नोभेम्बर २९ र ३० मा हुने ‘नेपाल–युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ हुन लागेको हो । नेपाली व्यवसायी संघ युरोप (नेबा युरोप) को आयोजनामा डबलट्री बाई हिल्टन होटलमा हुने सम्मेलन बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग तथा युरोपेली संघका लागि नेपाली राजदूतावासको संरक्षणमा आयोजना हुन लागेको हो ।

दुईदिने सम्मेलनमा प्रतिनिधिसभा सदस्य मनिष झा, नेपाली राजदूत सेवा लम्साल, युरोपेली लगानी बैंकका प्रतिनिधि एडभार्डस बुम्स्टाइनस र युरोपेली संघको बाह्य कार्य सेवाका प्रतिनिधिसहित नेपाल तथा युरोपका व्यवसायी, लगानीकर्ता र विभिन्न क्षेत्रका विज्ञ सहभागी हुनेछन् ।

नेपालका लागि युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटलीले भर्चुअल माध्यमबाट सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

‘नेपाल–युरोप साझेदारीका लागि सरकार, व्यवसाय र प्राज्ञिक क्षेत्रको सहकार्य’ मूल अवधारणामा केन्द्रित सम्मेलनमा पाँचवटा विषयमा छलफल हुनेछ । व्यापार तथा लगानी, सूचना प्रविधि र डिजिटल नवप्रवर्तन, युवा उद्यमशीलता, पर्यटन प्रवर्द्धन तथा व्यावसायिक सहकार्य सम्मेलनका मुख्य विषय रहनेछन् । युवा उद्यमशीलता तथा सूचना प्रविधि नवप्रवर्तनसम्बन्धी सत्रको नेतृत्व चिरन खवासले गर्नेछन् ।

नेबा युरोपका अध्यक्ष याम निरौलाले सम्मेलनलाई औपचारिक भेटघाट र छलफलमा मात्र सीमित नराखी व्यावहारिक व्यावसायिक सहकार्य तथा दीर्घकालीन साझेदारीको आधार बनाउने लक्ष्य रहेको बताए । उनका अनुसार नेपाल र युरोपबीचको विद्यमान आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।