नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध कायम भएका मुलुकको संख्या १८५ पुग्यो

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध कायम भएका मुलुकको संख्या १८५ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल र माइक्रोनेसियाको संघीय राज्यबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। सोमबार कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग औपचारिक कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १८५ पुगेको छ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र माइक्रोनेसियाका स्थायी प्रतिनिधि जिम एस. लिप्पवेले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन्।

कूटनीतिक सम्बन्ध स्थापनाको अवसरमा दुवै देशका राजदूतले आपसी हित र चासोका विभिन्न विषयमा छलफल गरेका थिए। उनीहरूले द्विपक्षीय सहयोगलाई थप मजबुत बनाउने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका छन्।

विशेषगरी संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा पारस्परिक हितका विषयमा सहकार्यलाई प्रभावकारी बनाउने विषयमा दुवै पक्षले जोड दिएका छन्।

पश्चिमी प्रशान्त महासागरमा अवस्थित माइक्रोनेसिया ६०० भन्दा बढी द्वीपहरू मिलेर बनेको राष्ट्र हो। उसले ३ नोभेम्बर १९८६ मा स्वतन्त्रता प्राप्त गरेको थियो भने १७ सेप्टेम्बर १९९१ मा संयुक्त राष्ट्रसंघको सदस्यता पाएको थियो।

माइक्रोनेसियाको कुल क्षेत्रफल करिब ७०१ वर्ग किलोमिटर रहेको छ भने जनसंख्या करिब १ लाख रहेको अनुमान छ।नेपाल र माइक्रोनेसिया दुवै जी–७७ तथा चीन समूहका सदस्य राष्ट्र हुन्।