काठमाण्डु– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानको अल अमेरत क्रिकेट ग्राउन्डमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको हो ।
जारी शृङ्खलामा नेपाल र ओमान लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो ।
यस्तै, ओमानले क्यानडाविरुद्ध ४१ रनको जित निकालेको थियो । नेपाली टोली आज पनि खेलमा जित निकाल्दै अङ्क तालिकामा सुधार गर्न चाहन्छ ।
तालिकाको शीर्ष छ मा रहेर आइसिसी एकदिवसीय मान्यता जोगाउन नेपालका लागि आजको खेल महत्वपूर्ण छ । ताजा स्थितिमा अङ्क तालिकामा ओमान चौथो र नेपाल छैटौँ स्थानमा छ ।
आइसिसीको नियमअनुसार विश्वकप लिग–२ को तालिकामा शीर्ष छमा पर्ने टोलीले सोझै एकदिवसीय मान्यता जोगाउने छन् । तालिकाको पुछारको दुईवटा टिमले एकदिवसीय मान्यता जोगाउन आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्छ ।



प्रतिक्रिया