रक्षामन्त्री पाेखरेलसँग पाकिस्तानी राजदूतकाे भेट, सैनिक सहकार्यलार्इ निरन्तरता दिइने


काठमाडौं–  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालका लागि पाकिस्तानी राजदूत डा मजहर जावेदले बिहीबार  भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित रक्षामन्त्रीको कार्यकक्षमा भएकाे भेटमा  दुवै देशबीचकाे सहकार्य र सहयाेगबारे कुराकानी भएकाे रक्षा मन्त्रालयका प्रवक्ता ऋषि राजभण्डारीले जानकारी दिए।

रक्षामन्त्री पोखरेलले नेपाल र पाकिस्तानबीच लामो समयदेखि रहीआएको सुमधुर सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउनुपर्ने बताए।

 नेपाल र पाकिस्तानबीच सरकारीस्तरमा मात्र नभएर जनस्तरमा समेत सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै रक्षामन्त्री पोखरले सम्बन्ध विस्तारका लागि दुवै पक्ष मिलेर संयुक्त रूपमा काम गर्नुपर्ने बताए।

दुई देशको राष्ट्रिय सेनाबीच समेत मैत्रीपूर्ण सम्बन्ध रहनुका साथै सैनिक सहयोगको आदानप्रदान भइरहेकोमा आगामी दिनमा पनि यस प्रकारको सहकार्य निरन्तर रहिरहनुपर्नेमा रक्षामन्त्री पोखरेलको जोड थियो ।

सो अवसरमा पाकिस्तानका राजदूत डा जावेदले नेपाल र पाकिस्ताबीचको द्विपक्षीय तथा कूटनितिक सम्बन्ध अत्यन्त प्रगाढ र सुमधुर रहेको बताए।।
पाकिस्तानले नेपाली सेनाका मेडिकल अधिकृतलगायत विभिन्न सैनिकहरूका लागि तालिम तथा प्रशिक्षणलगायतका सहायता उपलब्ध गराउँदै आएको र भविष्यमा नेपालले उपयुक्त ठानेको त्यस क्षेत्रमा आवश्यकतानुसार सहायता उपलब्ध गराउने राजदूत जावेदको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement