प्रतिनिधिसभामा तोडफोड गरे सांसद्लाई क्षतिपूर्ति भराउने नियम बन्दै

प्रतिनिधिसभामा तोडफोड गरे सांसद्लाई क्षतिपूर्ति भराउने नियम बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सांसदहरूले प्रतिनिधिसभामा ध्वंसात्मक गतिविधि गरी भौतिक क्षति पु¥याए उनीहरूबाटै क्षतिपूर्ति भराउने व्यवस्था प्रस्ताव गरिएको छ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले ध्वंसात्मक गतिविधिमा संलग्न भइ भौतिक क्षति पुर्‍याउने सांसद्हरूबाटै क्षतिपूर्ति भराउने व्यवस्था प्रस्ताव गरिएको हो।

समितिले तयार पारेको मस्यौदामा संसद्को मर्यादा, अनुशासन र सुव्यवस्था कायम राख्न सभामुखलाई विशेष अधिकार दिने प्रावधान पनि समेटिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीको नेतृत्वमा रहेको समितिले नियमावलीको मस्यौदा तयार पारेको हो।

मस्यौदाअनुसार कुनै पनि सांसदले बैठक कक्षमा अशान्ति सिर्जना गरे, तोडफोडमा संलग्न भए वा भौतिक क्षति पुर्‍याए सभामुखले तत्काल मर्यादापालकमार्फत त्यस्ता सदस्यलाई बैठक कक्षबाट निष्कासन गर्न सक्नेछन्। साथै त्यस्ता सदस्यलाई बढीमा १५ दिनसम्म निलम्बन गर्न र भएको क्षतिको क्षतिपूर्ति भराउन आदेश दिन सकिनेछ।

मस्यौदामा बैठक सम्पन्न भएपछि पनि कुनै सदस्यबाट अनुशासनहीन वा ध्वंसात्मक गतिविधि भएको पुष्टि भएपछि पनि कारबाही गर्न सकिने उल्लेख छ। तर यस्तो कारबाही गर्नुअघि सम्बन्धित सदस्यलाई आफ्नो सफाइ पेस गर्ने अवसर दिनुपर्ने प्रावधान राखिएको छ।

निलम्बन अवधिभर सम्बन्धित सांसदले प्रतिनिधिसभा तथा कुनै पनि समितिको बैठकमा सहभागी हुन पाउनेछैनन्। निलम्बन र त्यसको फुकुवासम्बन्धी जानकारी सम्बन्धित समिति र संसदीय दललाई संसद् सचिवालयले दिने व्यवस्था पनि प्रस्तावमा समावेश गरिएको छ। यो मस्यौदा प्रतिवेदन सभामुख डोलप्रसाद अर्याललाई बुझाइएको छ।