नेपाल प्रहरीमा दुई एआइजी पद रिक्त, को–को छन् बढुवाको दौडमा ?


काठमाण्डु – नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मुकुन्दराज आचार्य आजदेखि अनिवार्य अवकाशमा गएका छन् ।

प्रहरी एकेडेमीमा कार्यरत उनी एआईजीको ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएका हुन् । एआईजी आचार्य विसं. २०४९ चैत ११ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । उनको अवकाशसँगै प्रहरीमा एआइजीको दुई पद रिक्त भएको छ ।

यसअघि एआइजी विश्वराज पोखरेलले साउन २० मा अवकाश पाएपछि उक्त पद खाली छ । सरकारले आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजी) बनाएको भन्दै पोखरेलले वैशाख १९ गते सर्वोच्चमा रिट हालेका थिए ।

सर्वोच्चले असार ३१ गते रिट नै खारेज गरिदिएपछि पोखरेलले राजीनामा दिएका थिए। पोखरेलले पेस गरेको राजीनामा मन्त्रिपरिषद्‌बाट स्वीकृत हुने पर्नेमा प्रहरी प्रधान कार्यालयले उक्त राजीनामा अघि नै नबढाइ राखेको थियो।

केही समयपछि आफैं अनिवार्य अवकाशमा जान लागेको भन्दै प्रहरी प्रधान कार्यालयले राजीनामा प्रक्रिया अघि नबढाउँदा अन्ततः ५६ वर्षे उमेरहदका कारण उनी अनिवार्य अवकाशमा गएका थिए ।

यता उमेरहदकै कारण रबिन्द्र धानुक र अरुण बिसी पनि मंसिरसम्म अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि रिक्त पदमा बढुवा गर्ने प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तयारी गरेका छन् । त्यसका लागि  डिआइजीहरुले लविङ सुरु गरिसकेका छन् ।

बढुवाको प्रमुख दाबेदारमा डिआइजीहरू बसन्त कुँवर, अशोक सिंह, टेकप्रसाद राई, दीपक थापा, किरण बज्राचार्य, उमेशराज जोशी, सन्दीप भण्डारी, मिरा चौधरी, भिम ढकाल, रामदत्त जोशी लगायत छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement