काठमाण्डु- नेपाल प्रहरीको ३१ औँ महानिरीक्षक (आईजी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नियुक्त हुने निश्चित भएको छ ।
प्रहरी महानिरीक्षक बन्ने लाइनमा रहेका अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै थापा प्रहरी प्रमुख बन्ने निश्चित भएको हो ।
महानिरीक्षक वसन्त बहादुर कुँवर अवकाशमा जाने भएपछि सोमबारदेखि प्रहरी महानिरीक्षक पद रिक्त हुँदैछ । सोमबार अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गर्दैछ ।
एआईजीमध्ये जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा थापालाई आईजीमा नियुक्त गर्न लागिएको हो । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले प्रहरीको महानिरीक्षक नियुक्त गर्छ ।
मन्त्रिपरिषद्को बैठकले मेरिट लिस्टका आधारमा आईजीपी नियुक्त गर्नेछ । जसमा थापाको नै सम्भावना छ । थापासँगै एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि महानिरीक्षकको प्रतिस्पर्धामा छन् । पहिलो नम्बरमा रहेका थापा फिल्ड कमान्डमा अनुभवी मानिन्छन् ।
थापा अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख छन् । एआईजीमध्ये थापा वरिष्ठतम् हुन् । विद्यमान प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल करिब ६ महिनाको हुनेछ ।
आईजीपी कुँवरसहित ५ एआईजी र ३ डीआईजी सोमबारदेखि अवकाश पाएका छन् ।
प्रहरीमा रहेको ३० वर्षे सेवा अवधिको कारण आईजीपीसहित अन्य ९ प्रहरी अधिकारी सेवानिवृत्त भएका हुन् ।
आईजीपी कुँवरसँगैै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि अवकाश पाएका हुन् । उनीहरूकै ब्याची डीआईजीहरू गणेश चन्द, भोला रावल र धुवराज राउत पनि सोमबारदेखि अवकाशमा गएका हुन् ।
प्रतिक्रिया