‘आर्मी–पुलिसले राहत सामग्री आफैंले लिए’ भन्ने अफवाहप्रति प्रहरीको आपत्ति

‘आर्मी–पुलिसले राहत सामग्री आफैंले लिए’ भन्ने अफवाहप्रति प्रहरीको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीपछि उद्धारमा खटिएका सुरक्षाकर्मीबारे सामाजिक सञ्जालमा फैलाइएको अफवाहप्रति नेपाल प्रहरीले गम्भीर आपत्ति जनाएको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै तथ्यहीन सामग्री प्रसारित भएको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू विपद्मा परेका नागरिकको खोज तथा उद्धार, घाइतेको उपचार, फेला परेका शवको व्यवस्थापन तथा राहत सामग्री वितरणलगायतका काममा निरन्तर खटिएका छन्।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत ‘सुरक्षाकर्मीले राहत सामग्री आफैं लिए, वितरण नगरी सडाए’ भन्ने आशयका भ्रमपूर्ण तथा तथ्यहीन सामग्री प्रसारित भएको भन्दै प्रहरीले त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा भनिएकाे छ ‘पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायलाई लक्षित गरी आर्मी–पुलिसले राहत सामग्री आफैंले लिएको, वितरण नगरेको र सडाइदिएको भन्ने आशयको भ्रमपूर्ण तथा तथ्यहीन अफवाह फैलाएको विषयप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ।’

प्रहरीले आफ्नो मातहतमा कुनै पनि राहत सामग्री भण्डारण नरहेको स्पष्ट पार्दै विपद्को संवेदनशील समयमा सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने र नागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना गर्ने किसिमका कपोलकल्पित आरोप तथा अफवाह नफैलाउन आग्रह गरेको छ।

नेपाल प्रहरीले विपद्को समयमा नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र मानवीय सेवामा सुरक्षाकर्मीहरू निरन्तर प्रतिबद्ध रहेको जनाएको छ। साथै, अपुष्ट सूचना तथा अफवाहको प्रचार–प्रसार नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।