नेपाल प्रहरीद्वारा २२ हजार थप दरबन्दी माग


काठमाडौं – विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ । सात सय ५० ग्राम नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतिका लागि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार तत्कालका लागि २२ हजार चार सय १८ दरबन्दी आवश्यक छ । ‘यसमध्ये केही दरबन्दी थप हुने क्रममा छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । नयाँ दरबन्दीसँगै त्यसका लागि आवश्यक ब्यारेक, सञ्चार सेट तथा सवारीसाधनसमेत आवश्यकता रहेको उनको भनाइ छ ।

धेरै प्रहरी अझै भुइँमा सुत्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ । जुन समस्या समाधान गर्न प्रहरीले ‘एक प्रहरी एक खाट’ अभियान थालेको छ । जसअन्तर्गत पहिलो चरणमा १२ हजार खाट निर्माणको योजना अघि बढाइएको एसएसपी सुवेदीले बताए । त्यस्तै, करिब ११ सय प्रहरी कार्यालयमा अझै शौचालयसमेत छैन । त्यसमध्ये सात सय कार्यालयमा शौचालय बनाउने योजना प्रहरी प्रधान कार्यालयले अघि बढाएको छ ।

१८ हजार सुरक्षा समिति गठन
प्रहरीले जिल्ला, स्थानीय तह तथा टोलमा गरेर १८ हजार चार सय ६९ वटा समुदाय–प्रहरी समिति गठन गरेको छ । समुदायसँग मिलेर शान्ति सुरक्षा मिलाउन यस्ता समिति गठन भएका हुन् । ७७ जिल्ला, सात सय ४२ स्थानीय तह, पाँच हजार पाँच सय ७५ वडा, पाँच हजार सात सय ५३ टोल समिति गठन भएका छन् । त्यस्तै, ६ हजार तीन सय २२ विद्यालयसँग प्रहरीले सम्पर्क समिति गठन गरेको छ । यस अवधिमा प्रहरीले स्कुलमा गएर पढाएको समेत छ । प्रहरीको ‘प्रहरीसँग एक दिन’ कार्यक्रमअन्र्तगत एक लाख ९४ हजार पाँच सय ७८ विद्यार्थी तथा १० हजार दुई सय आठजना अभिभावक लाभान्वित भएका छन् । गत ११ कात्तिकदेखि लागू भएको यो कार्यक्रम निकै प्रभावकारी भएको प्रहरी प्रवक्ता सुवेदीको दाबी छ । यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement