नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधी हटाउने तयारी अन्तिम चरणमा


काठमाडौं – प्रहरी संगठनमा सेवा प्रवेश गरेको ३० वर्ष पूरा भएपछि अनिवार्य अवकाश पाउने बाध्यतात्मक व्यवस्थालाई हटाउने तयारी सरकारले गरेको छ ।प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित २०४६ माघ २९ गते प्रहरी सेवा प्रवेश गरेका प्रहरीका उच्च अधिकारीहरुले अवकाश पाउन केही दिन बाँकी रहँदा सोही प्रावधानलाई हटाएर कार्यकाल लम्ब्याउने खेल भइरहेको छ । सरकारले प्रहरी नियमावली संशोधन गरेर ३० वर्षे सेवाहदको प्रावधान हटाउने तयारी गरेको छ । गृह मन्त्रालयमार्फत अगाडि बढेको प्रक्रिया प्रधानमन्त्री कार्यालयमा पुगिसकेको स्रोतले जनाएको छ ।

प्रहरी नियमावली २०७१ बाट ३० वर्षे सेवाहदको प्रावधान हटाउन दक्ष जनशक्ति छिट्टै घर जाने र नयाँ भर्ना गर्दा राज्यलाई चर्को व्ययभार पर्ने कारण देखाइएको छ । सेवाहद हटाउन प्रहरी ऐनमा समेत संशोधन गर्नुपर्ने भएकाले नेपाल प्रहरी ऐन २०७६ प्रस्तावित मस्यौदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भइसकेको छ ।

संसदबाट कानूनमा संशोधन गर्ने र सरकारले नियमावली संशोधन गरेर कार्यकाल लम्ब्याउन खोजिएको छ । मन्त्रिपरिषद् बैठकले ऐनको मस्यौदा संसदमा दर्ता गराउने निर्णय गरेपछि नियमावली संशोधनको निर्णय गर्न सहज हुने बाटो अपनाइएको छ । हालका आईजिपी खनाललाई अझ १४ महिना जागिरमा थमौती गर्ने वा उनलाई राजीनामा दिन लगाएर एआईजी पुष्कर कार्कीलाई प्रहरी महानिरीक्षक बनाउने भन्नेमा छलफल चलिरहेको स्रोत बताउंछ ।

सेवाहद ३० वर्षे प्रावधान हटेपछि प्रहरी कर्मचारीले उमेरहद र पदावधिका हिसाबले मात्रै अवकाश पाउने छन् । प्रस्तावित ऐनमा पदावधिबारे प्रहरी महानिरीक्षक (आईजी) ३ वर्ष, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ४ वर्ष, प्रहरी नायव महानिरीक्षक (डीआईजी) ५ वर्ष, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ६ वर्ष र प्रहरी उपरीक्षक (एसपी) १० वर्ष रहने व्यवस्था गरिएको छ ।

प्रहरी नेतृत्वमा रहने आईजीपी सेवाहदका कारण छोटो–छोटो समयमै अवकाश पाउने भएकाले त्यसको अन्त्यका लागि सरकारले सेवाहद हटाउन लागेको हो । प्रस्तावित व्यवस्था लागू भएपछि आईजीपीलाई उमेर हदले अवरोध नगरे ३ वर्ष प्रहरी कमाण्ड सम्हाल्न पाउने छन् । प्रहरीमा उमेरहद प्रहरी महानिरीक्षक (आईजीपी) ५८ वर्ष, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ५७ वर्ष, प्रहरी नायव महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ५६ वर्ष र प्रहरी उपरीक्षक (एसपी) सहित तल्लो दर्जाका लागि ५५ वर्ष रहने प्रस्ताव गरिएको छ ।

बहालवाला आईजीपी सर्वेन्द्र खनालले सेवाहदका आधारमा अवकाश पाउनुअघि नै ३० वर्षे प्रावधान हटेमा उनको कार्यकाल १४ महिना थपिने छ । खनाल २०७४ चैत्र २९ गते आईजीपी नियुक्त भएकाले ३ वर्षे पदावधि अनुसार उनले २०७७ चैत २९ गते मात्रै अवकाश पाउने छन् । कानुनी प्रक्रिया पूरा गर्दा माघ २९ अघि नै ३० वर्षे सेवाहद हट्ने सम्भावना भने न्युन रहेको स्रोतले जनाएको छ । सेवाहदको प्रावधान नहटेमा खनाल माघमै प्रहरी संगठनबाट बिदा हुनेछन् । यदी खनाल नै अरु १४ महिना पदमा रहेको अवस्थामा डिआईजी केदार रिजाल भावी प्रहरी महानिरीक्षक बन्नेछन् । माघ २९ भित्र ३० वर्षे सेवाअवधी नहटे आईजीपी खनालसँगै सेवा प्रवेश गरेका एआईजी पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात पनि अनिवार्य अवकाश पाएर संगठनबाट बिदा हुनेछन् । खनालको ब्याचपछिका आईजीपी र एआईजीहरूले भने नयाँ प्रावधानबाट लाभ लिनसक्ने देखिएको छ ।

हाल डीआईजी रहेर भावी आईजीपीको दौडमा रहेका ठाकुर ज्ञवाली, तारिणी लम्साल र सूर्य उपाध्यायलाई भने नयाँ व्यवस्थालाई फाइदा पुग्नेछ । २०४७ असार २५ गते प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट सेवा प्रवेश गरेका तीनै जना ३० वर्षे सेवाहद रहँदा २०७७ असारमा अवकाश पाउँछन् । तर सेवाहद अन्त्य भए एआईजी र आईजीपीमा लामो समय सेवा गर्न पाउने छन्, पदावधि र उमेरहदले अवकाश नपाएसम्म ।

त्यसपछि प्रहरी नेतृत्वमा आउने आकलन गरिएका प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख निरजबहादुर शाही, विशेष ब्यूरो प्रमुख हरिबहादुर पाल र प्रदेश २ प्रमुख प्रद्युम्न कार्की र महानगरीय प्रहरी आयुक्त विश्वराज पोखरेललाई भने सेवाहद हट्दा वेफाइदा हुनेछ र प्रहरी संगठनभित्र नेतृत्वका लागि रस्साकस्सी बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement