सादा पोसाकमा खटाइएका १७ अधिकृत र ५७ जवानलाई जिम्मेवारीबाट हटाइयो


काठमाडौं – उल्लेखनीय काम गर्न नसकेको भन्दै सादा पोसाकमा खटाइएका प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुर तथा मातहतका कार्यालयमा लामो समयदेखि सादा पोशाकमा कार्यरत १७ अधिकृत र ५७ जवानलाई जिम्मेवारीबाट हटाइ महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा पठाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।

प्रहरीको आचरण सुधार गर्ने, प्रहरीप्रति लागेको लाञ्छना मेटाउने र जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्य गरिएको कार्यालयको भनाइ छ । आचरण सुधारको हिसाबले पठाइएका प्रहरी अधिकृत तथा जवानहरूलाई महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा ७ दिने सुधारात्मक तालिम समेत सञ्चालन गरिने छ ।

अबदेखि हरेक महिना इन्टेलिजेन्ट ग्रुपमा कार्यरत कर्मचारीहरूमा सकारात्मक आचरण र तोकिएको जिम्मेवारी भित्र रहेर परिणाममूखी कार्यको मूल्याकङ्न हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए ।

साथै अब सादा पोशाकमा कार्यरत प्रहरीहरू मुलतः प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालित हुने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement