निर्मला पन्तका हत्यारा चाँडै पत्ता लगाउँछौंः आईजीपी क्षेत्री


काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले निर्मला पन्तको बलात्कार घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आईजीपी क्षेत्रीले पन्तका हत्यारा पत्ता लगाउनका लागि प्रहरीले तिव्र रुपमा काम गरिरहेको बताएका छन् ।

आईजीपी थापाले घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयबाट अधिकृत पठाइएको र अनुसन्धान भइरहेको बताए । उनले पन्तको अनुसन्धानमा खटिएका अधिकृत अहिले बझाङको सम्झना कामीको बलात्कार तथा हत्याको अनुसन्धानका लागि सहयोगीको रूपमा केही दिनका लागि पठाएको समेत जानकारी दिए ।

‘निर्मला पन्तको केसमा औपचारिक र अनौपचारिक रूपमा अनुसन्धानमा लागेका छौं । अनुसन्धानका लागि प्रहरी अधिकृतलाई संघबाट पठाएका छौं’, उनले भने ।

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका पन्तको २०७५ साउन १० गते महेन्द्रनगरमा हत्या गरिएको थियो । उक्त घटनामा स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबीनको माग गरेका थिए ।

प्रहरीविरूद्धमा भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो । त्यसपछि भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानबिन समिति गठन गरेको थियो । आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement