बढुवा भएका ६० जना इन्सपेक्टरलाई दर्ज्यानी चिन्ह प्रदान


काठमाण्डु – नेपाल प्रहरीका प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएकामध्ये ६० जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

माघ २६ र २८ गतेको गृह सचिवस्तरको निर्णयअनुसार बढुवा भएका अधिकृतहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नोति भएका ४६ जनामध्ये ३८ जना र विभिन्न समूहको प्राविधिक प्रहरी नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नोति भएका २३ जनामध्ये २२ जना प्रहरी अधिकृतहरु रहेका छन् ।

पदोन्नति भएका ८ जना प्रहरी नायव उपरीक्षकहरू र १ जना प्राविधिक प्रहरी निरीक्षक हाल यूएन मिसनमा कार्यरत रहेका छन् ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदले अपेक्षा गरेअनुसारको व्यावसायिक भूमिका निर्वाह गर्न निर्देशन दिए । आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीलाई मनन गरी नियमित रूपमा भएको कार्यसम्पादनमा बढोत्तरी गर्दै संगठनको ओज तथा छविलाई निरन्तरता दिन सम्पूर्ण प्रहरी कर्मचारीहरू सतत् रुपमा लागिपर्ने अपेक्षा संगठनले लिएको उनले चर्चा गरे ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले थप उत्साहका साथ जिम्मेवारी वहन गर्दै उत्कृष्ट काम गर्ने लगायतका आफ्ना प्रतिवद्धताहरूलाई सबैले स्वीकारी काम गर्ने अपेक्षा आफूले लिएको उल्लेख गरे । प्रहरीको कार्य सम्पादनमा प्राविधिक प्रहरीहरूले मद्दती भूमिका निर्वाह गर्दै उच्चतम व्यावसायिकता प्रदर्शन गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गरेको उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement