एआईजीमा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिन्ह प्रदान (फोटोफिचर)


काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरु तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले तीनै जनालाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिए । उनले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडान राख्दै आफ्नो ज्ञान, सीप, क्षमताको प्रदर्शन गरी काम गर्नुपर्ने बताए ।

मेहनत, लगनशीलता, इमानदारिता र प्रष्ट सेवा भावको कदरस्वरुप पदोन्नति भएको भन्दै संगठनलाई थप चलायमान बनाउनेतर्फ लाग्न निर्देशन दिए ।

नेपाल प्रहरीको मुख्य कार्य नै अपराध अनुसन्धान भएकोले यसमा थप सीपयुक्त जनशक्ति विकास गर्ने, संगठनको भावी रणनीति मजबुत बनाउने र फिल्डमा कार्य गर्ने प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनेतर्फ सचेत भएर लाग्न पनि आईजीपीले निर्देशन दिए ।

पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्सालले पदोन्नतिले थप जिम्मेवारी बोध भएको बताए ।

गत फागुन १५ गते बढुवा समितिले सिफारिस गरे पनि मन्त्रिपरिषद् बैठक बस्न नसक्दा निर्णय हुन ढिलाइ भएको थियो ।

बढुवासँगै लम्सालले प्रहरी प्रशिक्षण प्रतिष्ठान, थापाले मानव श्रोत तथा प्रशासन र पालले अपराध अनुसन्धान तथा कार्य विभागको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement