एआईजीको सरुवा रोक्न गृहबाट निर्देशन आएको छैन्ः प्रहरी प्रवक्ता


काठमाण्डु – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा रोक्न निर्देशन नआएको स्पष्ट पारेको छ ।

यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको एआईजीको सरुवा कार्यान्वयन नगर्न गृहमन्त्री बालकृष्ण खांणले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको खबर बाहिरिएको थियो । तर, प्रहरी प्रधान कार्यालयले भने गृहबाट कुनै निर्देशन नआएको स्पष्ट पारेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले एआईजी सरुवा रोक्न निर्देशन नआएकाले अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन हुने बताए ।

‘उहाँहरूकाे एक चरण सरूवा भएको हो । हिजाे सञ्चारमाध्यमबाटै सरुवा रोक्ने कुरा थाहा पाइयो । तर, अहिलेसम्म गृहबाट केही जानकारी छैन्,’ प्रवक्ता कुँवरले भने ।

मन्त्रिपरिषदको असार २४ गते बसेको बैठकले प्रहरीका एआईजीहरुको सरुवा गरेको थियो । यसअघि ओली सरकारले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरिबहादुर पाललाई ७ महिनामै हटाएर प्रद्युम्न कार्कीलाई पठाएको थियो । पाललाई हटाएर प्रहरीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा रहेका कार्कीलाई मेट्रोमा पठाइएको थियो ।

प्रतिष्ठानको प्रमुखमा एआइजी विश्वराज पोखरेललाई पठाइएको थियो । त्यस्तै, गत बिहीबार बढुवा भएका सहकुल बहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागको प्रमुखमा र प्रशासन विभागका निरज बहादुर शाहीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको थियो ।

थापा र पोखरेललाई एआईजीको दरबन्दी थप गरेर एआईजीमा बढुवा गरिएको थियो । ओली नेतृत्वको सरकारले यसअघि प्रहरीमा एआईजीको दरबन्दी घटाउने निर्णय गरेपनि आफु निकट पोखरेल र थापालाई एआइजीमा बढुवा गर्न भने आफ्नै निर्णय विपरित प्रहरीमा दुई एआइजीको दरबन्दी थप गरिएको थियो । दुवै जनालाई एआइजीमा बढुवा गर्दा भने प्रहरी संगठनभित्र असन्तुष्टि छाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement