आफु निकट अधिकारीलाई बढुवा गर्न दरबन्दी थपको चलखेल : थापालाई बढुवा गर्न यस्तो छ तयारी


काठमाण्डु– नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप भएको छ । मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा एक जना एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको पत्र सोमबार गृह मन्त्रालय हुंदै प्रहरी मुख्यालयमा पुगेको छ ।

गृह मन्त्रालयले एआईजीको बढुवा प्रक्रिया पनि सुरु गर्ने तयारी गरेको छ । उच्च स्रोतले दिएको जानकारीअनुसार डिआईजी सहकुल थापालाई एआईजी बनाउने तयारीका लागी प्रहरीमा एआईजीको दरबन्दी थप गरिएको हो । उनको गत सोमबार मात्र सिआईबीबाट नेपाल प्रहरीको प्रदेश समन्वय निर्देशनालयमा सरुवा भएको थियो ।

यसअघि पनि एआईजी विश्वराज पोखरेललाई बढुवा गर्न एआईजीको दरबन्दी थप गर्ने निर्णय भएको थियो । पोखरेललाई बढुवा गर्न तत्कालिन अख्तियार प्रमुखदेखि प्रधानन्यायाधीशसम्म लागेको स्रोतको दावी छ । उनको उच्च तहका नेता र प्रशासकसंग समेत सुमधुर सम्बन्ध छ ।

डिआईजी थापाको बढुवाका लागी समेत सर्वोच्चतिरबाटै दबाव आएको स्रोतले जनाएको छ । प्रधानमन्त्री निकट स्रोतले दरबन्दी थपबारे काठमाण्डुपाटीलाई भन्यो ‘जहांबाट पोखरेललाई बढुवा गर्न दबाव थियो,त्यहीबाट थापाको बढुवाको लागी दबाव आएको छ । सायद केही दिनमा डिआईजीको पनि दरबन्दी थप हुन्छ होला ।’

डिआईजीको दरबन्दी थपको लागी एसएसपी दिपक थापा, टेकप्रसाद राई र सन्दिप भण्डारीहरु लविङ्गमा लागेका छन् ।

प्रहरीमा आफु निकट अधिकारीहरुलाई बढुवा गर्न दरबन्दी थपको चलखेल हुंदै आएको छ । यसअघि अहिलेकै सरकारले प्रहरीमा एआईजी र डिआईजीको दरबन्दी घटाउने निर्णय गरेको थियो । तर,पछिल्लो समय फेरी निकट अधिकारीहरुलाई बढुवा गर्नको लागी हचुवाको भरमा दरबन्दी थप्ने काम हुंदै आएको छ । यसको प्रहरीभित्र चर्को आलोचना भएको छ। तर, यसमा प्रहरी महानिरीक्षक शैलेश थापा भने मौन बसेका छन् । उनले राजनीतिक नेतृत्वको दबाव थेग्न नसकेको बताइन्छ ।

अहिलेकै अवस्थामा हालका आईजीपी क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् । त्यसपछिको प्रहरी महानिरीक्षका लागी एआईजी पोखरेल एक्ला दाबेदार थिए । उनलाई थापा पछिको प्रहरी महानिरीक्षक बनाउनकै लागी एआईजीको दरबन्दी थप भएको थियो । तर, प्रहरीमा एआईजीको अर्को दरबन्दी थप भएसंगै अव बन्ने एआईजी पनि आईजिपीको प्रतिस्पर्धामा सहभागी हुनेछन् । पोखरेल र थापा दुवै एकै व्याचका अधिकारी हुन । थापालाई काभ्रेका नेता गोकुल बांस्कोटा र भक्तपुरका नेता महेश बस्नेतको साथ छ । एसएसपीबाट डिआईजीमा बढुवा हुंदा समेत दुवै नेताको दबावमै उनलाई एक नम्बरमा राखिएको थियो ।

एआईजीका लागी एक दर्जन डिआईजीहरु दौडमा रहेपनि थापा नै बन्ने सम्भावना बलियो छ । एआईजीको दरबन्दी थप भएसंगै पोखरेलको दौडधुप सुरु भएको छ । उनले गत साता मात्र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई दुई घण्टा कुरेर भेटेको स्रोतले बताएको छ । पोखरेलको राणा र तत्कालिन रक्षामन्त्री ईश्वर पोखरेलसंग निकट सम्बन्ध छ ।

२७ कात्तिकमा एआईजीको दरबन्दी थप्दै सरकारले पोखरेललाई बढुवा गरेको थियो । तर,उनको कार्यशैली र कार्यसम्पादनबाट उनलाई बढुवाका लागी पहल गर्नेहरु नै असन्तुष्ट बनेको बताइन्छ । पोखरेललाई एआईजीमा बढुवा गरेपछि संसदको राज्य व्यवस्था समितिले पनि निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । तर, सरकारले समितिको निर्णयलाई समेत वेवास्ता गरेर बढुवा प्रक्रिया अघि बढाएको थियो ।

सरकारले एक एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेसंगै प्रहरीमा एआईजीको संख्या ५ पुगेको छ । नेपाल प्रहरीमा मानवश्रोत एवंम प्रशासन विभाग, कार्य एवंम् अवराध अनुसन्धान विभाग, महानगरिय प्रहरीको कार्यालय र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान गरी चार वटा कार्यालयमा एआईजीको दरबन्दी रहेको छ । त्यसैगरी प्राविधिकतर्फ प्रहरी अस्पतालमा समेत एआईजीको दरबन्दी रहेको छ ।

यता सशस्त्र प्रहरी बलमा समेत एआईजीको दरबन्दी थप्नको लागी चर्को लविङ सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement