काठमाण्डु-नेपाल प्रहरीले मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) यज्ञविनोद पोखरेललाई कारबाहीको तयारी गरेको छ ।
मधेसमा तस्करीको लाइन खुलाएको र त्यसबापत घुस लिएको उजुरीका आधारमा पोखरेलमाथि कारबाहीको तयारी प्रहरी प्रधान कार्यालयले गरेको हो । उनीसँग निकट बिचौलिया पक्राउ परेका छन् भने घुमुवाहरूलाई प्रहरी प्रधान कार्यालयले झिकाएर सोधपुछ गरिरहेको छ ।
मधेसमा घुमुवा र बिचौलियामार्फत तस्करीको लाइन खुलाएर तस्करी गरेको भेटिएपछि उनीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको हो ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समेत उनको नाम नलिई केही दिनअघि एक डिआइजीमाथि कारबाहीको प्रक्रिया अघि बढ्ने बताएका थिए ।
डिआइजी पोखरेलले आफ्नो बैंक खाताबाटै लेनदेन गरेको प्रमाण भेटिएको स्रोतको दाबी छ ।
जनकपुरका बिचौलिया जितेन्द्र कर्णलाई प्रहरीले पक्राउ गरेपछि पोखरेलमाथि कारबाहीको आधार बनेको थियो । कर्णले डिआइजीको नाममा तस्करहरूसँग पैसा उठाउने र बुझाउने गरेको स्रोतको दाबी छ ।
केही घुमुवालाई प्रहरी प्रधान कार्यालयमा तानेर अनुसन्धान सुरु गरिएको छ । उनी यही असोजमा अवकाशमा जाँदै छन् ।
१०५ प्रहरी अवकाशमा
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काललाई कायम नहुने भएपछि नेपाल प्रहरीतर्फ ८९ र सशस्त्र प्रहरीतर्फ १६ अधिकृतको एकसाथ अवकाश भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले ३० वर्षे हटाउन दिएको अन्तरिम आदेश शुक्रबार संयुक्त इजलासबाट खारेज भएसँगै उनीहरूले एकसाथ अवकाश पाएका हुन् ।
यो आदेशसँगै नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) विष्णुकुमार केसीसहित ८९ जना एकसाथ अवकाशमा गएका हुन् ।
यस्तै सशस्त्र प्रहरीमा पनि डिआइजीद्वय अभि खत्री र दुर्गा भट्टराईसहित १६ अधिकृत विदा भएका छन् । उनीहरू सबै जना आफ्नो कार्यालयबाट केही शुक्रबार बिदा भएका छन् भने केहीचाहिँ आज बिदा हुँदैछन् ।
प्रतिक्रिया