नेपाल प्रहरीका डिआइजी प्रदेश प्रहरी प्रमुख हुने सहमति


काठमाडौं – नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआइजी) प्रदेश प्रहरी प्रमुख हुने भएका छन् ।

संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रदेश प्रहरी प्रमुखमा सरकारले अगाडि सारेकै प्रस्ताव नेपाल प्रहरीको डिआइजीलाई पठाउने सहमति बनेको हो ।

केही दिन पहिले नेकपा नेता तथा सांसद जनार्दन शर्माले समितिमा एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव राखेका थिए । गृहमन्त्रालय र कानुन मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले डिआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाएर पठाउने सहमति गरेर समितिमा औपचारिकरूपमा प्रस्ताव पेस गरेपछि उक्त प्रस्ताव समितिले सर्वसम्मतिले स्वीकार गरेको हो ।

सात प्रदेशमा सात डीआईजीसहित ५५ हजार प्रहरी समायोजन भएर जानेछन् । संघमा २० हजार मात्र रहनेछन् । संघबाट प्रदेशमा जाने प्रहरीको संघमा आउने बाटो भने खुलै रहनेछन ।

त्यसरी प्रदेश प्रमुख भएर जाने एआइजीले प्रदेश प्रहरीकै पोसाक र दर्ज्यानी चिह्न लगाउनेछन् । उनीहरू आइजिपी बन्ने सम्भावना कायमै रहनेछ । प्रदेश प्रहरी प्रमुखलाई संघीय सरकारले सरुवा गर्नसक्ने व्यवस्था गरिएको छ ।

प्रदेश प्रहरीको सेवासुविधा नेपाल प्रहरी (संघीय सरकार मातहत रहने प्रहरी)को भन्दा कम नहुने व्यवस्थामा पनि सहमति भएको छ । प्रदेश प्रहरीको सेवा, सुविधा, पोसाक, दर्ज्यानी चिह्न संघीय ऐनको मातहत रहेर बन्ने प्रदेश प्रहरी कानुनअनुसार हुने विषयमा समितिमा सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement