प्रहरीमा सुरु भयो कांग्रेसको हस्तक्षेपः एआइजीको सरुवा रोक्न निर्देशन


काठमाण्डु – नवनियुक्त गृहमन्त्री बालकृष्ण खांडले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा रोक्न निर्देशन दिएका छन् । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको एआईजीको सरुवा कार्यान्वयन नगर्न गृहमन्त्री खांणले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका हुन् ।

यससंगै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुंदा गरेका निर्णय उल्टाउने प्रक्रिया सुरु गरेको बुझिएको छ । प्रहरीमा सरुवा भएर रमाना लिने तयारीमा रहेका एआईजीको सरुवा रोकिनुलाई संगठनभित्र हस्तक्षेप सुरु भएको अर्थमा लिइएको छ ।

गृह मन्त्रालयले एआईजीहरुलाई पनि सरुवाको रमाना नलिन निर्देशन दिइसकेको छ । मन्त्रिपरिषदको असार २४ गते बसेको बैठकले प्रहरीका एआईजीहरुको सरुवा गरेको थियो । यसअघि ओली सरकारले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरिबहादुर पाललाई ७ महिनामै हटाएर प्रद्युम्न कार्कीलाई पठाएको थियो । पाल कांग्रेस निकट भएका कारण उनको सरुवा गरिएको थियो । उनको प्रहरी महानिरीक्षक शैलेश थापासंग सम्बन्ध बिग्रिएपछि सरुवा भएको थियो । पाललाई हटाएर प्रहरीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा रहेका कार्कीलाई मेट्रोमा पठाइएको थियो ।

प्रतिष्ठानको प्रमुखमा एआइजी विश्वराज पोखरेललाई पठाइएको थियो । त्यस्तै, बिहीबार बढुवा भएका सहकुल बहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागको प्रमुखमा र प्रशासन विभागका निरज बहादुर शाहीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको थियो ।

थापा र पोखरेललाई एआईजीको दरबन्दी थप गरेर एआईजीमा बढुवा गरिएको थियो । ओली नेतृत्वको सरकारले यसअघि प्रहरीमा एआईजीको दरबन्दी घटाउने निर्णय गरेपनि आफु निकट पोखरेल र थापालाई एआइजीमा बढुवा गर्न भने आफ्नै निर्णय विपरित प्रहरीमा दुई एआइजीको दरबन्दी थप गरिएको थियो । दुवै जनालाई एआइजीमा बढुवा गर्दा भने प्रहरी संगठनभित्र असन्तुष्टि छाएको थियो ।

प्रहरीका एआइजीको बुधवार सरुवा रोकिएकोसंग प्रहरी मुख्यालयभित्र तरंग पैदा भएको छ । प्रहरीभित्र कांग्रेसले फेरी राजनीति सुरु गरेको अर्थमा यसलाई लिइएको छ । कांग्रेस नेता खांडलाई प्रधानमन्त्री देउवाले चुनावलाई ध्यानमा राखेर गृहमन्त्री बनाएको चर्चा छ ।

ओली नेतृत्वको सरकारले पनि जथाभावी दरबन्दी थप्ने काम गरेको भन्दै आलोचना भएको थियो । प्रहरी महानिरीक्षक थापाले समेत सरकारले प्रहरीभित्र हस्तक्षेप गर्दा समेत मुकदर्शक बन्ने गरेको आरोप लाग्ने गरेको थियो । यता गृहमन्त्री बालकृष्ण खाँडले भने प्रहरी अतिरिक्त महानिरिक्षकहरुको सरुवा कार्यान्वयन नगर्नका लागि आफूले निर्देशन नदिएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement