करिब २९ वर्षपछि नेपाल प्रहरीको सुडान मिसन बन्द


काठमाण्डु – नेपाल प्रहरीको सुडान मिसन बन्द भएको छ । नेपाल प्रहरी सन् १९९२ मार्च १२ बाट संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सहभागी हुँदै आइरहेको थियो । करिब २९ वर्षपछि सुडानमा रहेको नेपाल प्रहरीको शान्ति मिसन बन्द हुने भएको हो ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसन (युनामिड) ३१ डिसेम्बर २०२० बाट बन्द गर्ने निर्णय गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले जानकारी दिए । उनले सुडानमा रहेको प्रहरीको टोली मेको अन्तिममा स्वदेश फर्किने जानकारी दिए ।

इन्डिभिजुअल पुलिस अफिसर (आइपिओ)का रूपमा सुडानमा १३ जना प्रहरी अधिकृत रहेका छन् । उनीहरु पनि पाँच महिनापछि फर्किँदैछन् । त्यस्तै सुडान पुगेको अर्को टोली तीन महिनापछि स्वदेश फर्किने तयारी भएको प्रवक्ता कुँवरले जानकारी दिए ।

सरकारले संयुक्त राष्ट्र संघसँग गरेको प्रतिवद्धता अनुरुप नेपाल प्रहरीका योग्य एंव दक्ष प्रहरी कर्मचारीहरूलाई छनौट गरी राष्ट्र संघीय मिशनहरूमा इन्डिभिजुअल पुलिस अफिसर (आइपिओ) को रूपमा प्रहरीहरू सहभागी गराउँदै आएको थियो । यसअघि नेपाल प्रहरीको हाइटि मिसन पनि बन्द भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement