नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता, सामुदायिक सुरक्षा अभिवृद्धि हुने विश्वास


काठमाडौं – नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप संस्थागत साझेदारी निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँ र प्रहरी महानिरीक्षक (आइजीपी)सर्वेन्द्र खनालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

सामाजिक विकृति विसङ्गतिविरुद्ध जनचेतना फैलाउँदै अपराध रोकथाम गर्न, सुरक्षा व्यवस्थापनमा जनसहयोग र समग्रमा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न प्राज्ञिक क्षेत्रको विज्ञतालाई मनन गर्दै मुदाय-प्रहरी साझेदारी अवधारणा अनुरूप संस्थागत साझेदारीको निर्माण एवं कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।समझदारीपत्रमा अध्यापन र प्रशिक्षणमा संस्थागत विज्ञताको उपयोग, पाठ्यक्रम विकास, अध्ययन अनुसन्धान, सूचनाको आदान प्रदान, श्रोत व्यक्ति तथा स्वयंसेवक सम्बन्धी व्यवस्था, सुरक्षा सचेतना अभिवृद्धि, प्रकाशन, क्षमता अभिवृद्धि, सूचना प्रविधिको विकास, व्यवहारिक अभ्यास, इन्टर्नसिप, विद्युतीय पुस्तकालय, सुरक्षित विश्वविद्यालयको अवधारणा, भ्रमणको आदानप्रदान र साझेदारी कार्यान्वयनको लागि सम्पर्क विन्दु लगायतका विषय समेटिएका छन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति खनियाँले सम्झौतापत्रका विषयवस्तु ज्यादै महत्वपूर्ण रहेको चर्चा गर्दै नेपाल प्रहरीले गर्ने सेवामा विश्वविद्यालयको तर्फबाट गर्नुपर्ने योगदान दिन विश्वविद्यालय तयार रहेको बताए । आपसी सहकार्यबाट समाजलाई दिने सेवालाई उत्पादनमूलक र मूल्यवान बनाउन सकिने भएकाले समझदारीको प्रभावकारी एवं शीघ्र कार्यान्वयनको लागि समझदारीका विषयवस्तुलाई प्राथमिकता तोकेर लक्षित टीम बनाई काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । विश्वविद्यालयले लामो समयदेखि अन्तरराष्ट्रिय रुपमा सहकार्यको संस्कृति अगाडि बढाएको भए पनि राष्ट्रिय रुपमा नेपाल प्रहरीसँग नै पहिलो समझदारी भएको उल्लेख गर्दै उपकुलपति खनियाँले अबका दिनमा कामबाटै एकअर्कालाई योगदान गर्ने नयाँ अवस्थाको थालनीसँगै थुप्रै कुरामा मिलेर जान सकिने बताए । साझेदारीको माध्यमबाट हुने विचार, अनुभव र विज्ञताको आदान–प्रदानबाट व्यावसायिक कार्यसम्पादन अभिवृद्धि गर्न सहयोग पुग्ने समेत उनको विश्वास छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समझदारीपत्रमा हस्ताक्षर महत्वपूर्ण भएकाले उपलब्धिपूर्ण हुने विश्वास व्यक्त गरे । मर्यादित मानिने सुरक्षा निकाय र अध्ययन अध्यापन क्षेत्रसँगको सहकार्यलाई नियमित रुपमा अगाडि बढाउँदै थप उपलब्धिमूलक बनाउन तत्कालै समझदारी कार्यान्वयन गर्न अगाडि बढ्ने प्रतिबद्धता खनालले व्यक्त गरे ।

 

समझदारीबाट साझेदारीमा नवीन आयाम थपिएकोले आफूलाई गर्व महसुस भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरीको बहुआयामिक कार्यक्षेत्रमा बृहत दृष्टिकोण निर्माणको लागि प्राज्ञिक क्षेत्रको विज्ञता उपयोग गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए । अहिलेका दिनमा अध्ययन परिष्कृत हुँदै अनुसन्धानमुखी भएकाले संगठन मजबुत, सबल र समयसापेक्ष बनाउन सहयोग मिलेको खनालको बुझाइ छ । मानव अधिकारको संरक्षण गर्दै सुरक्षित समाज र समृद्ध राष्ट्र बनाउन नेपाल प्रहरी समुदायसँग मिलेर काम गर्ने उल्लेख गर्दै खनालले भने, ‘‘संगठनको बुझाई, दृष्टिकोण र कार्यशैली नागरिक केन्द्रीत छ ।’’ सूचना प्रविधिको कारण अपराधको सिमाना नहुने अवस्थामा बाहिर के भइरहेको छ भन्ने बुझेर नीति योजना बनाउन सके समयले माग गरेको काम गर्न सकिने भएकोले यसतर्फ प्रहरी उन्मुख भइरहेको खनालले बताए ।

प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले समझदारीपत्रको मस्यौदा प्रस्तुतीकरण गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेती, प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) ठुले राई, उक्त विश्वविद्यालयका विभिन्न विभागका प्रमुखहरु, प्रहरी प्रधान कार्यालयस्थित विभिन्न निर्देशनालयका प्रमुखहरु समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement