काठमाण्डु – वर्षा कम भएसँगै असार २८ गते नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय देखिएका छन् । वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र स्याङ्जाको आकाशमा सलहको झुण्ड देखिएका हुन् । मङ्गलबार साँझ स्याङ्जाको आकाश भएर सलहको झुण्ड तनहुँतिर लागेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंले बताउनुभयो ।
बर्साद्को समयमा सलहहरू ठूला रुखका हाँगामुनि र पातमुनि बस्ने भएकाले केही दिनदेखि हराएजस्तो देखिए पनि मङ्गलबार पुनः देखिएको हुमागाईंले बताउनुभयो ।
स्याङ्जाबाट कृषि ज्ञान केन्द्रका प्रमुखले सहल सक्रिय भएको जानकारी दिनुभएको छ तर तिनीहरू कहाँ गएर बसेका छन् भन्ने बारेमा खोजी जारी रहेकाे उहाँले बताउनुभयाे । चार दिनदेखि निस्क्रिय रहेका सलह एक्कासि देखिएपछि कृषि ज्ञान केन्द्र स्याङ्जाले त्यहाँ वरपरका स्थानीयलाई सजग रहन अनुरोध गरेको छ ।
मङ्गलबार साँझ देखिएको सलहको झुण्ड ८ देखि १० लाखसम्मको भएको अनुमान गरिएको हुमागाईंले जानकारी दिनुभयो । असारमा कञ्चनपुरवाट प्रवेश गरेको सलहको झुण्डसमेत महाकाली नदी पार गरेको र तिनीहरू महाकाली नदी वारपार गरिरहेको हुमागाईंले बताउनुभयो ।
सलह कडा खालको प्रजाति भएकाले वर्षाको समयमा ठूला आकारमा रुखका पात, हागाँको मुन्तिर बस्ने र घाम लागेसँगै सक्रिय बन्न थालेको हुमागाईंले बताउनुभयो ।
शुक्रबारसम्म हावाको बहाव नेपालतर्फ रहेकाले सलहको जोखिम रहेपनि शुक्रबारबाट हावाको बहाव राजस्थानतर्फ फर्कने भएकाले नेपालमा सलहको जोखिम शुक्रबारसम्म कायमै हुने हुमागाईंले बताउनुभयो ।
नेपालमा रहेका सलह शुक्रबारबाट राजस्थानतर्फ फकर्ने सम्भावना छ । हावाको बहावकै आधारमा तिनीहरूले यात्रा तय गर्ने भएकाले शुक्रबारसम्म नेपालमा जोखिम कायमै छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया