विश्वकप लिग-२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दै

विश्वकप लिग-२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत सोमबार स्कटल्याण्डसँग खेल्दैछ । लिग–२ को नेदरल्याण्ड्स र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसँग पहिलो खेल खेल्न लागेको हो । उक्त खेल सोमबार दिउँसो पौनै ४ बजेबाट सुरु हुनेछ ।

नेपालले ७ महिनापछि एकदिवसीय खेल खेल्न लागेका हो । यसअघि सन् २०२४ को नोभेम्बरमा पछिल्लो पटक स्कटल्याण्डसँग नै एकदिवसीय खेल खेलेको थियो ।

उक्त खेल नतिजाविहीन बनेको थियो । त्यसयता नेपालले कुनै पनि एकदिवसीय खेल खेलेको छैन ।

यो सिरिजमा नेपालले ४ खेल खेल्नेछ । अंक तालिकाको पुछारमा रहेको नेपाललाई यो सिरिज निकै महत्वपूर्ण हुनेछ । दुवै टोली आईसीसीको एकदिवसीय वरियतामा माथि हुँदा आफ्नो पक्षमा नतिजा निकाल्न नेपाललाई चुनौती हुनेछ । यस्तै राम्रो नतिजा निकाल्दै अंकतालिकाको पुछारबाट उक्लिने अवसर पनि नेपाललाई हुनेछ ।

लिग–२ मा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् यी दुई टोलीले । २० खेल खेलेको नेदरल्याण्ड्स १२ जितसहित दोस्रो स्थानमा छ । १६ खेलबाट ९ जित निकालेको स्कटल्याण्ड २० अंकसहित चौथो स्थानमा छ ।

१२ खेलमा मात्र २ खेलमा जित निकालेको नेपाल ६ अंकसहित अंकतालिकाको पुछारमा छ । स्कटल्याण्डसँगको पछिल्लो ५ खेलमा नेपालले ३ मा जित निकाल्दा एक खेलमा हार बेहोरेको छ । एक खेल नतिजाविहीन भएको छ । नेदरल्याण्ड्ससँग नेपालले पहिल्ला २ जित निकाल्दा ३ खेल गुमाएको छ ।

स्टुआर्ट ल टोलीको मुख्य प्रशिक्षक बनेपछि उनको नेतृत्वमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।