साउदीलाई ३०१ रनले पराजित गर्दै नेपाल सेमिफाइनलमा


काठमाण्डु – नेपालले मलेसियामा जारी एसिसी यू-१९ प्रिमियर कपमा साउदी अरेवियालाई ३ सय १ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । नेपाल समूह ए मा ३ खेलमा अपराजित रहँदै शीर्षस्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।

जितको लागि ३ सय ४८ रनको विशाल विजयी लक्ष्य पछ्याएको साउदी अरेविया १९.१ ओभरमा ४६ रनमा अल आउट भयो । साउदीका बरुण मुदालियरले २५ बलमा सर्वाधिक ११ रन बनाए ।

मोहम्मद अहमद ९ रनमा अल आउट भए । अब्दूल्लाह शिराजले २६ बलमा ९ रन बनाए । साउदीका १० ब्याटरले नेपालको बलिङ सामु दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका दीपेश कँडेलले ९.१ ओभरमा १८ रन खर्चेर ६ विकेट लिए । आकाश चन्दले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सुवास भण्डारीले एक विकेट लिए ।

त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो । नेपालको जितमा अर्जुन कुमालले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय इनिङ खेले । योसँगै उनी नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी बन्दै इतिहास रचेका छन् । अर्जुननै खेलको प्लेयर अफ द म्याच चुनिए ।

यसअघि नेपालबाट एकै खेलमा सर्वाधिक रन कुशल मल्लको नाममा थियो । कुशल मल्लले केहि साताअघि चीनमा सम्पन्न १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा अविजित रहेका थिए ।

अर्जुनले यसअघि गत फागुनमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए । अर्जुन नेपालबाट ओपनरको रुपमा यू१९ क्रिकेटमा दुई शतक हान्ने पहिलो खेलाडी समेत हुन् । कुनैपनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा अर्जुनको यो उच्च प्रदर्शन हो ।

नेपाललाई पहिलो विकेटका लागि अर्जुन कुमाल र दीपक बोहराले ११.५ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । दीपक ३७ बलमा २ चौका र २ छक्कासहित २९ रनमा आउट भए ।

दोस्रो विकेटका लागि अर्जुन कुमाल र आकाश त्रिपाठीले १ सय ६२ बलमा १ सय ८९ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरका थिए ।

अर्जुन ३९ औं ओभरको तेस्रो बलमा अहमद राजालाई सर्ट खेल्ने धुनमा मोहम्मद अहमदबाट क्याच आउट भएका थिए । लगत्तै कप्तान देव खनाल डक आउट भए ।

आकाशले ९८ बलमा ६ चौका र २ छक्कासहित ८९ रन बनाउँदै आउट भए । दीपक डुम्रे १४ र मिलन बोहरा ९ रनमा आउट भए । नेपालका दीपेश कँडेलले १४ र विशाल विक्रम केसीले २४ रन बनाए ।

साउदी अरवियाका मोहम्मद अहमद र अहमद राजाले दुई दुई विकेट लिए । जुहैर मोहम्मद शजिव मुजिबुर रहमानले एक एक विकेट लिए ।

नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो । सेमिफाइनल कार्तिक ५ गते (अक्टोबर २२) मा हुनेछ । फाइनल र तेस्रो स्थानको लागि कार्तिक ७ (अक्टोबर २४) मा प्रतिस्पर्धा हुनेछ ।

नेपालले सेमिफाइनलमा समूह डी को विजेतासँग खेल्नेछ । समूह डी को विजेता शुक्रबार निर्धारण हुनेछ । समूह डी मा जापान २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ ।

हङकङ २ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । इन्डोनएसिया २ खेलमा अंक विहीन हुँदै बाहिरिएकोछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement