काठमाण्डु– सरकारी स्वामित्वको नेपाल टेलिकमको खुद नाफा ४८.६७ प्रतिशतले ओरालो लागेको उल्लेख छ ।
टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको प्रतिवेदनले खुद नाफा ४८.६७ प्रतिशतले ओरालो लागेको जनाएको हो ।
टेलिकमले गत आवको तेस्रो त्रैमासमा ५ अर्ब ५३ करोड ७५ लाख ६२ हजार खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा टेलिकमको खुद नाफा २ अर्ब ६९ करोड ५२ लाख ७३ हजारले घटेर २ अर्ब ८४ करोड २२ लाख ८९ हजारमा सीमित भएको छ ।
टेलिकमको चालु लगानी र नगद तथा नगदसरहको रकम हेर्ने हो भने पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म उक्त सम्पत्ति करिब रु ३४ अर्बमा झरेको छ । यसले टेलिकमको आर्थिक स्वास्थ्य र चालु सम्पत्तिको अवस्था ओरालो लागेको देखिन्छ ।
टेलिकमले खुद नाफामा आएको कमीको कारणमध्ये एउटा ओभर द टप (ओटिटी) प्लेटफर्मअर्थात् म्यासेन्जर, भाइबर, ह्वाट्सएप, इमेललगायत उल्लेख गरेको छ । ओटिटीको बढ्दो प्रयोगले टेलिकमको भ्वाइस र एसएमएसबाट हुने आम्दानीमा उल्लेख्य गिरावट आएको टेलिकमको भनाइ छ ।
प्रतिक्रिया